काठमाडौँमा सुकुम्वासीको प्रदर्शन

हिमाल प्रेस १३ असार २०८३ १६:५७ | Saturday, June 27, 2026
16
SHARES
काठमाडौँमा सुकुम्वासीको प्रदर्शन

काठमाडौँ- सुरक्षित पुनःस्थापना सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्।

सुरक्षित पुनःस्थापना, भूस्वामित्वसहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन माग गर्दै उनीहरुले शनिबार काठमाडौंको माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका हुन्।

उनीहरुले सरकारले पटकपटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानूनबमोजिम बिगो, उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन् भने पुनः स्थापना नै गर्ने भए घर भत्काइएको स्थान वा कानूनबमोजिम उपयुक्त स्थानमा भू–स्वामित्वसहितको स्थायी व्यवस्थापनको समेत माग गरेका छन्।

प्रदर्शनका क्रममा होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थीत बसोबासीका तर्फबाट दल मर्दन कामीले होल्डिङ सेन्टरमा रहेकालाई हट्नका लागि पटकपटक दवाव दिँदा मानसिक तनाव उत्पन्न भएको बताए। उनले सरकारका विभिन्न निकाय र प्रहरीहरुले २५ हजार बुझेर होल्डिङ सेन्टर छाड्न दवाव दिएको उल्लेख गरे।

उनले आफूहरुलाई सरकारले सडकमा अलपत्र पार्न खोजेको भन्दै तत्काल उचित व्यवस्थापन गर्न माग गरे। प्रदर्शनमा सहभागीहरुले ‘डोजर होइन, समाधान दे, जनता मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन, गरिबमाथिको ज्यादती बन्द गर’ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै असार १९ गतेसम्म होल्डिङ सेन्टर छाड्न भनेपछि उनीहरु आन्दोलित भएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast