काठमाडौँ- नेपाली सेनाले मनसुनजन्य विपद्का समयमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सर्लाहीको बागमती ड्याम क्षेत्रमा विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन गरेको छ।
नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार विपद् प्रतिकार्यका लागि काठमाडौँ विमानस्थलमा स्ट्यान्डबाइ अवस्थामा रहने कम्पोजिट क्विक रियाक्सन टिमले शुक्रबार बागमती ड्याम क्षेत्रमा हवाई उद्धारसहित विभिन्न विपद् प्रतिकार्यसम्बन्धी अभ्यास गरेको हो।
अभ्यासमा मध्य पूर्वी पृतना, विशेष फौज बाहिनी तथा मध्य एयर बेसका फौजहरूको सक्रिय सहभागिता रहेको सेनाले जनाएको छ। अभ्यासका क्रममा मनसुनका कारण हुन सक्ने बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्का अवस्थामा उद्धार, समन्वय र आपत्कालीन प्रतिकार्यका विभिन्न पक्षको अभ्यास गरिएको थियो।
नेपाली सेनाका अनुसार यस्ता अभ्यासले मनसुनजन्य विपद्का घटनामा शीघ्र, समन्वयात्मक र प्रभावकारी रूपमा उद्धार तथा प्रतिकार्य सञ्चालन गर्ने क्षमता अभिवृद्धि गर्न सहयोग पुग्नेछ।
सेनाले मनसुनको समयमा हुन सक्ने सम्भावित विपद्को सामना गर्न आवश्यक तयारीलाई निरन्तर सुदृढ बनाउँदै यस्ता अभ्यासलाई नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।




