रास्वपा महाधिवेशनमा भद्रगोल, प्रतिनिधि र उम्मेदवार दुवै असन्तुष्ट

हिमाल प्रेस ११ असार २०८३ ११:४४ | Thursday, June 25, 2026
12
SHARES
रास्वपा महाधिवेशनमा भद्रगोल, प्रतिनिधि र उम्मेदवार दुवै असन्तुष्ट

चितवन- आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान प्रक्रियामै विभिन्न खालका अव्यवस्था देखिएपछि प्रतिनिधि र उम्मेदवारहरू असन्तुष्ट बनेका छन्।

भोटिङ मेसिनमा उम्मेदवारहरूको नाम क्रमबद्ध नभएको, विभिन्न क्लस्टरका उम्मेदवारहरूलाई एउटै सूचीमा राखिएको तथा मतदान प्रणालीले प्रतिनिधिहरूलाई अनिवार्य रूपमा भोट हाल्न बाध्य पारेको भन्दै गुनासो छ।

सुरुवातमा भोटिङ मेसिनमा समस्या भएको भनिए पनि वास्तविक समस्या उम्मेदवारी व्यवस्थापन प्रक्रियामै रहेको खुलेको छ। रास्वपाका एक नेताका अनुसार उम्मेदवारी दर्ता गर्दा मधेशी, थारू, महिला लगायतका विभिन्न क्लस्टरमा उम्मेदवारी दिएका व्यक्तिहरूको अन्तिम सूची तयार पार्दा क्लस्टर छुट्याइएन। सोही सूची प्राविधिक टोलीलाई उपलब्ध गराइएकाले उम्मेदवारहरूको नाम असम्बद्ध ढंगले भोटिङ मेसिनमा प्रविष्ट भएको हो।

उम्मेदवारी फाराम वितरण र संकलन प्रक्रियामा पनि समन्वयको अभाव देखिएको थियो। एउटै क्लस्टरका फाराम तीन फरक स्थानबाट वितरण गरिएकाले एउटै सिरियल नम्बर पटकपटक दोहोरिएको र पछि सूची एकीकृत गर्दा उम्मेदवारहरूको क्रम पूर्ण रूपमा फेरिएको थियो। यही कारण उम्मेदवारी दर्ताको क्रममा प्राप्त नम्बर र भोटिङ मेसिनमा देखिएको क्रमसंख्या नमिलेको गुनासो बढेको छ।

केन्द्रीय सदस्यका उम्मेदवारहरूले भोटिङ मेसिनमा नाम न नेपाली वर्णानुक्रमअनुसार रहेको, न उम्मेदवारी दर्ताको क्रमअनुसार रहेको भन्दै आपत्ति जनाएका छन्। उम्मेदवार उत्तमप्रसाद पौडेलले सामाजिक सञ्जालमार्फत उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने शैलीमाथि प्रश्न उठाउँदै भने,‘न नेपाली लिपीको क्रम मिलेको छ, न अंग्रेजी अल्फाबेटको।’

महाधिवेशनमा सहभागी सांसद तथा प्रतिनिधिहरूले पनि मतदान प्रणालीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सांसद आशिका तामाङले आफूले चाहेका उम्मेदवारलाई मात्रै मत दिन नपाएको बताइन्। उनका अनुसार प्रणालीले सबै कोटामा अनिवार्य रूपमा मत हाल्न बाध्य बनाउँछ र मत नदिई अर्को चरणमा जान मिल्दैन। यसले नचिनेका व्यक्तिलाई समेत मतदान गर्नुपर्ने अवस्था सिर्जना गरेको उनको भनाइ छ।

सांसद राजीव खत्रीले भने यसलाई ‘नो भोटको धज्जी’ भन्दै आलोचना गरेका छन्। संसारमा आफ्नै प्रतिस्पर्धीलाई अनिवार्य रूपमा भोट दिनुपर्ने मतदान प्रणाली दुर्लभ भएको उनको टिप्पणी छ।

यसैबीच मतदानकै क्रममा विभिन्न उम्मेदवारहरूको नाम समेटिएका सूचीहरू ह्वाट्सएपमार्फत प्रतिनिधिहरूसम्म पुग्न थालेपछि गुटगत गतिविधिको आशंका पनि बढेको छ। प्रतिनिधिहरूले फरकफरक सूचीहरू वितरण भइरहेको भन्दै पारदर्शितामाथि प्रश्न उठाएका छन्।

रास्वपाले नयाँ कार्यसमिति चयनका लागि रामलक्षमण भोटिङ मेसिन प्रयोग गरेको छ।

प्रकाशित: ११ असार २०८३ ११:४४ | Thursday, June 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast