रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढी उम्मेदवारी, निर्वाचन प्रक्रिया अघि बढ्दै

हिमाल प्रेस १० असार २०८३ ९:४९ | Wednesday, June 24, 2026
10
SHARES
रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढी उम्मेदवारी, निर्वाचन प्रक्रिया अघि बढ्दै

चितवन- चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत ९९ केन्द्रीय सदस्य पदका लागि चार सयभन्दा बढीले उम्मेदवारी दर्ता गरेका छन्।

रास्वपा निर्वाचन आयोगका उपप्रमुख राम गुरुङका अनुसार मंगलबार साँझ ७ बजेदेखि सुरु भएको उम्मेदवारी दर्ता प्रक्रिया आज बिहान २ बजेसम्म चलेको थियो।  प्रारम्भिक विवरणअनुसार ठूलो संख्यामा उम्मेदवारी परेको भए पनि नामावलीको रुजु कार्य जारी रहेको उनले बताए।

उनका अनुसार केन्द्रीय सदस्य पदका लागि अधिकांश सांसद र मन्त्रीहरूले समेत मनोनयन दर्ता गरेका छन्। पार्टीमा हाल १८२ सांसद र १६ मन्त्री रहेको र विधानअनुसार पहिलो चरणमा सभापति तथा ९९ केन्द्रीय सदस्यको निर्वाचन हुने व्यवस्था छ। सभापति पदमा भने अन्य उम्मेदवारी नपरेपछि रवि लामिछाने मंगलबार नै निर्विरोध निर्वाचित भइसकेका छन्।

निर्वाचन आयोगका अनुसार अब उम्मेदवारमाथि दाबी विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भएपछि आजै केन्द्रीय सदस्यको मतदान हुनेछ। उम्मेदवारहरूले मंगलबार रातिदेखि नै प्रचार प्रसार र मत माग्ने कार्य तीव्र बनाएका छन्। चितवन उद्योग संघको परिसरस्थित प्रदर्शनी केन्द्रको हलमा मतदान हुने व्यवस्था गरिएको छ।

रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीद्वारा जारी सूचनाअनुसार निर्वाचन प्रक्रियामा उम्मेदवारका प्रस्तावक र समर्थक आफैं उम्मेदवार बन्न नपाउने नियम लागू गरिएको छ। यो नियम उल्लंघन भएमा उम्मेदवारी स्वतः अमान्य हुने व्यवस्था पनि गरिएको छ।

पार्टीले सभापति पदका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक तथा केन्द्रीय सदस्यका लागि १ जना प्रस्तावक र २१ जना समर्थक अनिवार्य हुने नियम तोकेको छ।

प्रकाशित: १० असार २०८३ ९:४९ | Wednesday, June 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast