मेस्सी, एमबाप्पे, हालान्ड र केन
विश्वकप त्यतिबेला अझ विशेष बन्छ, जब फुटबलका चर्चित स्टार खेलाडीहरू आफ्नो वास्तविक लयमा देखिन्छन्। गत साता विश्व फुटबलका चार उत्कृष्ट स्ट्राइकरले सनसनीपूर्ण प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो उपस्थितिको बलियो संकेत दिए।
मानौँ उनीहरू एकअर्काको प्रदर्शनबाट प्रेरित भएका थिए। फ्रान्सका किलियन एमबाप्पेले सेनेगलविरुद्ध ३-१ को जितमा दुई गोल गर्दै सुरुआत गरे।
केही घण्टापछि त्यो उपलब्धिलाई इयर्लिङ हालान्डले दोहोर्याए। म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डले इराकविरुद्ध नर्वेको ४-१ को जितमा दुई गोल गरे।
त्यसपछि पालो आयो लियोनल मेस्सीको। इन्टर मियामीका स्टार मेस्सीले आफ्नो अविश्वसनीय स्तर कायम राख्दै ह्याट्रिक पूरा गरे। अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले पराजित गर्यो।
ह्यारी केनले पनि दुई गोल गर्दै इंग्ल्यान्डलाई क्रोएसियामाथि ४-२ को जित दिलाए।
यी चारै खेलाडीको शैली भिन्नभिन्न छ तर प्रभावकारिता भने समान छ।
पूर्व वेल्स तथा एभर्टनका डिफेन्डर एस्ली विलियम्सले बीबीसी स्पोर्टसँग कुराकानी गर्दै उनीहरूविरुद्ध कसरी रक्षा गर्न सकिन्छ भन्नेबारे आफ्नो अनुभव सुनाएका छन्।
मेस्सीलाई ‘आरामदायी’ क्षेत्रतर्फ धकेल्ने प्रयास
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी बुधबार ३९ वर्षका हुँदै छन्। तर अल्जेरियाविरुद्धको प्रदर्शन हेर्दा उमेरले उनलाई छोएको जस्तो देखिँदैन।
उनको ह्याट्रिकसँगै विश्वकप इतिहासमा १६ गोलको कीर्तिमान बनाएका जर्मनीका मिरोस्लाभ क्लोससँग बराबरी गरेका छन्। यद्यपि एमबाप्पे उनीभन्दा दुई गोलले पछाडि छन्।
अन्तर्राष्ट्रिय फुटबलमा १२० गोल गरिसकेका मेस्सीलाई कसरी रोक्ने?
विलियम्सका अनुसार यो कुनै एक खेलाडीको जिम्मेवारी होइन, सम्पूर्ण टोलीको प्रयास आवश्यक हुन्छ।
‘डिफेन्डरका रूपमा तपाईँ केही भाग्यको पनि आशा गर्नुहुन्छ। तपाईंले सबै सम्भावित विकल्प ढाक्नुपर्छ— कहिले नजिकबाट मार्किङ गर्ने, कहिले पछाडि हटेर मिडफिल्डलाई दबाब दिन दिने,’ उनले भने।
उनका अनुसार शरीरको कोण, दूरी र पहुँचको सही प्रयोग गरेर मेस्सीलाई आफू सहज अनुभव गर्ने क्षेत्रतर्फ धकेल्ने प्रयास गर्नुपर्छ।
‘मेस्सी त्यस्ता खेलाडी हुन्, जहाँ कहिलेकाहीँ तपाईंले एउटा जोखिम रोज्नुपर्छ। त्यस अवस्थामा उनीभन्दा अरू कसैले प्रहार गरोस् भन्ने चाहनुहुन्छ,’ उनले भने।
विलियम्सका अनुसार मेस्सीलाई कमजोर खुट्टातर्फ मोड्ने रणनीति पनि खासै प्रभावकारी हुँदैन।
‘तपाईँले उनलाई जुनसुकै दिशातर्फ धकेल्न खोजे पनि उनी बलमाथिको नियन्त्रण कायम राख्न सक्षम छन्। उनको गुरुत्व केन्द्र तल छ, सन्तुलन उत्कृष्ट छ र पहिलो टच असाधारण छ। त्यसैले उनी बललाई आफूअनुकूल चलाएर तपाईंलाई असहज अवस्थामा पुर्याउन सक्छन्।’
एमबाप्पे : उनको गतिसँगै लय मिलाउनुपर्छ
विलियम्ससँग एमबाप्पेविरुद्ध खेल्ने प्रत्यक्ष अनुभव पनि छ।
नोभेम्बर २०१७ मा पेरिसमा भएको मैत्रीपूर्ण खेलमा उनले त्यतिबेला १८ वर्षका युवा एमबाप्पेलाई ८४ मिनेटसम्म रोक्ने प्रयास गरेका थिए।
एमबाप्पेले गोल नगरे पनि ओलिभिए जिरुका लागि निर्णायक पास दिएका थिए, जसबाट फ्रान्सले २-० को जित निकालेको थियो।
सेनेगलविरुद्धको दुई गोलसँगै एमबाप्पेले जिरुलाई पछि पार्दै फ्रान्सका सर्वाधिक गोलकर्ता बनेका छन्। उनको नाममा ५८ अन्तर्राष्ट्रिय गोल पुगेको छ। ‘उनीविरुद्ध खेल्न निकै कठिन हुन्छ,’ विलियम्स भन्छन्।
‘एमबाप्पे मेस्सीभन्दा धेरै प्रत्यक्ष शैलीका खेलाडी हुन्। उनी बल लिएर तीव्र गतिमा अगाडि बढ्छन्। ड्रिब्लिङ गर्दा उनीहरूको मोड्ने र घुम्ने शैलीमा बढी तीव्रता हुन्छ’, उनले भने।
उनका अनुसार एमबाप्पेविरुद्ध खेल्दा डिफेन्डर पनि त्यही गतिमा खेल्न बाध्य हुन्छ।
‘मेस्सीले तपाईँलाई कहिले ढिलो बनाउँछन्, कहिले अचानक तीव्र। तर एमबाप्पेविरुद्ध भने सुरुदेखि अन्त्यसम्म सतर्क रहनुपर्छ। त्यसैले म व्यक्तिगत रूपमा मेस्सीभन्दा एमबाप्पेविरुद्ध खेल्न रुचाउँथेँ, किनभने उनीसँग तपाईँ निरन्तर जोडिएर रहन सक्नुहुन्छ।’
विलियम्सले फ्रान्ससँग एमबाप्पेमात्र नभई अन्य खतरनाक आक्रमणकारी पनि भएकाले सामूहिक रक्षाको महत्त्व औँल्याएका छन्।
उनका अनुसार माइकल ओलिसे, उस्मान देम्बेलेलगायतका खेलाडीको चलन र दौडको ढाँचा अध्ययन गर्नुपर्छ।
‘तपाईँको सम्पूर्ण ध्यान एमबाप्पेमाथि केन्द्रित भयो भने अरू खेलाडीहरूले क्षति पुर्याउँछन्। त्यसैले टोलीका रूपमा एउटै योजनामा काम गर्नुपर्छ’, उनले भने।
हालान्ड : पछाडिको खाली स्थान बन्द गर्नुपर्छ
२५ वर्षको उमेरमा पहिलोपटक विश्वकप र अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलिरहेका हालान्ड गुमेको समयको पूर्ति गर्न आतुर देखिएका छन्।
विलियम्सका अनुसार हालान्ड, मेस्सी र एमबाप्पेभन्दा बिल्कुल भिन्न प्रकारका खेलाडी हुन्।
‘उनी बलबिना नै तपाईंलाई हराउन सक्छन्, जुन झन् खतरनाक हुन्छ,’ उनले भने।
डिफेन्सलाई अगाडि सारेर मिडफिल्डलाई सहयोग गर्ने प्रयास गर्दा पछाडि खाली स्थान छोडियो भने हालान्डले त्यसको तुरुन्त फाइदा उठाउनेछन्।
विलियम्सका अनुसार हालान्डलाई नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी उपाय भनेको उनलाई बल पुग्नै नदिनु हो।
‘सबैभन्दा पहिले पछाडितर्फ पठाइने पासहरू रोक्नुपर्छ। उनलाई बल आपूर्ति बन्द गरिदिनुपर्छ,’ उनले भने।
उनका अनुसार मिडफिल्ड र डिफेन्सबीचको दूरी व्यवस्थित राख्न सकियो भने हालान्डको प्रभाव आधा घटाउन सकिन्छ।
‘उनी धेरै पटक बल लिएर चार जना खेलाडी छक्याउँदै गोल गर्ने खेलाडी होइनन्। उनी टोलीका साथीहरूले सिर्जना गरेको अवसरमा निर्भर हुन्छन्’, विलियम्सले भने।
५१ खेलमा ५७ गोल गरेका हालान्डबारे विलियम्स भन्छन्, ‘अवसर पाए भने त्यो लगभग निश्चित गोलमा परिणत हुन्छ।’
केन : उनको प्रहार सबैभन्दा घातक
३२ वर्षीय केनसँग पनि विलियम्सको पुरानो अनुभव छ। करिब एक दशकअघि टोटनहम हट्सपरबाट खेल्दा केनले विलियम्स आबद्ध स्वान्सी सिटी र एभर्टनविरुद्ध पाँच गोल गरेका थिए।
तर सन् २०२६ का केन २०१६ का केनभन्दा भिन्न खेलाडी बनेका छन्।
‘पहिले उनी बढी गतिशील र छिटा थिए। पछाडिबाट दौडिने प्रवृत्ति बढी थियो,’ विलियम्सले भने।
‘अहिले उनी ड्रिब्लिङबाट तपाईंलाई पार गर्ने खेलाडी होइनन्। त्यसैले तपाईंले उनीमाथि नजिकबाट दबाब दिनुपर्छ र प्रहार गर्ने अवसर दिनु हुँदैन।’
विलियम्सका अनुसार यी चार खेलाडीमध्ये सबैभन्दा उत्कृष्ट फिनिसिङ क्षमता केनसँग हुन सक्छ।
इंग्ल्यान्डका लागि ८१ गोल गरिसकेका केन प्रायः मिडफिल्डसम्म झरेर खेल निर्माणमा पनि सहभागी हुन्छन्।
‘त्यही पक्षले उनलाई भिन्न बनाउँछ। क्रोएसियाविरुद्ध उनले धेरै पटक मिडफिल्डमा झरेर आफ्नो पासिङ क्षमता प्रयोग गरे,’ उनले भने।
उनका अनुसार केनलाई पछ्याउँदै धेरै माथिसम्म जानुभन्दा मिडफिल्डका खेलाडीलाई जिम्मेवारी दिनु उचित हुन्छ।
‘म डिफेन्समै बसेर मिडफिल्डसँग संवाद गर्थेँ। केन मिडफिल्डमा आएपछि उनीहरूलाई मार्क गर्न दिन्थेँ र म पछाडिको खाली स्थान जोगाउन तयार हुन्थेँ’, विलियम्सले भने।
विलियम्सका अनुसार केनको यस्तो भूमिकाले जुड बेलिङहम, एन्थोनी गार्डन र नोनी माडुएकेजस्ता खेलाडीलाई खाली स्थान उपयोग गर्ने अवसर दिन्छ।
‘रक्षात्मक हिसाबले हेर्दा मेरो पहिलो प्राथमिकता दौडिरहेका ती खेलाडीहरू हुन्थे। इंग्ल्यान्डको सबैभन्दा ठूलो हतियार पनि त्यही हो- एकै समयमा अगाडि र पछाडिका दुवै क्षेत्रबाट आक्रमण गर्न सक्ने क्षमता’, उनले भने। बीबीसीबाट




