पर्यावरण संरक्षण, उद्धार र पूर्वाधारमा नेपाली सेनाको यस्तो सक्रियता

हिमाल प्रेस ४ असार २०८३ १२:४१ | Thursday, June 18, 2026
28
SHARES
पर्यावरण संरक्षण, उद्धार र पूर्वाधारमा नेपाली सेनाको यस्तो सक्रियता

काठमाडौँ- नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विभिन्न जिल्लामा सञ्चालन गरेका जनहितकारी, संरक्षण तथा आपत्कालीन उद्धारसम्बन्धी गतिविधिहरू सार्वजनिक गरेको छ।

नेपाली सेना र राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको समन्वयमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम), बर्दघाट-१६ स्थित दाउन्नेदेवी सामुदायिक वनमा आयोजित बृहत् वृक्षारोपण कार्यक्रमको मध्यपश्चिम पृतनापतिले शुभारम्भ गरेका छन्।  कार्यक्रममा चुरे क्षेत्रको संरक्षण, जलस्रोतको दिगोपना, जैविक विविधताको संरक्षण तथा तराई-मधेशको पर्यावरणीय सन्तुलन कायम राख्न वृक्षारोपणको महत्त्व औँल्याइएको छ।

यसैगरी, चितवनको भरतपुर-९ स्थित एक स्कुटर सोरुममा विद्युत सर्ट भई लागेको आगो नयाँ सबुज गणको टोलीले स्थानीय पालिका, सुरक्षा निकाय तथा स्थानीयवासीको सहकार्यमा नियन्त्रणमा लिएको नेपाली सेनाले जनाएको छ।

पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक संरक्षणका क्रममा सिन्धुलीस्थित ऐतिहासिक सिन्धुलीगढी क्षेत्रमा ‘चियावारी-सिन्धुलीगढी पदयात्रा-२०८३’ आयोजना गरिएको छ। सिन्धुलीगढी युद्ध संग्रहालय परिसरको स्तरोन्नति सम्पन्न गरी मध्यपूर्वी पृतनापतिले स्थानीय तहलाई हस्तान्तरण गरिएको छ।

उद्धार सेवाअन्तर्गत महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत रुकुम पश्चिम, चौरजहारी-२ की एक गर्भवती महिलालाई जटिल स्वास्थ्य अवस्थाका कारण नेपाली सेनाको हवाई साधन प्रयोग गरी कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको छ।

स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित गोरख बहादुर गणले मकवानपुरको बाग्मती-५ मा नं. ७ फि.ए. गुल्म तथा स्थानीय स्वास्थ्य संस्थासँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिब २६० स्थानीयवासी लाभान्वित भएका छन्।

यसैगरी, नेपाली सेनाको शीघ्र प्रभावी आयोजनाअन्तर्गत विष्णुदल गणले धनुषाको कमला-३ स्थित सिद्धिदात्री भगवती मन्दिर परिसरमा निर्माण गरेको विश्राम घर तथा खानेपानी धारा मध्यपूर्वी पृतनापति र कमला नगरपालिका प्रमुखले संयुक्त रूपमा उद्घाटन गरेका छन्। उक्त संरचनाले स्थानीय धार्मिक तथा सामाजिक गतिविधिमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

त्यस्तै, शत्रु भञ्जन गुल्मले हुम्लाको अदानचुली-५, बारीगाउँमा हेलिप्याड निर्माण सम्पन्न गरी सम्बन्धित गाउँपालिकालाई हस्तान्तरण गरेको छ। यसले दुर्गम क्षेत्रमा आपतकालीन उद्धार तथा सेवा प्रवाहमा सहजता आउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित: ४ असार २०८३ १२:४१ | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast