भारतको उत्तराखण्डमा पर्ने प्रसिद्ध तीर्थस्थल केदारनाथ। तस्बिर साभार : प्रेस ट्रस्ट अफ इन्डिया
काठमाडौँ- भारतको उत्तराखण्ड राज्यमा पर्ने हिमाली क्षेत्रमा जारी चारधाम यात्राका क्रममा पछिल्ला ४५ दिनमा एक सय २० भन्दा बढी तीर्थयात्रीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मृत्युको कारण स्वास्थ्य समस्या र दुर्घटना भएको बताइएको छ।
यात्राको ठूलो हिस्सा पैदल यात्रा हो। यहाँ उच्च उचाइ तथा प्रतिकूल मौसमको सामना गर्नुपर्छ।
द टेलिग्राफको समाचारअनुसार कम्तीमा ४५ जनाको मृत्यु चमोली जिल्लाको गौचर सहरदेखि बद्रीनाथबीचको क्षेत्रमा भएको हो। त्यो क्षेत्र यात्रामार्गको ढलानयुक्त र चिसो भाग मानिन्छ।
बद्रीनाथ, केदारनाथ, गंगोत्री र यमुनोत्री यात्राका क्रममा सडक दुर्घटनामा दुई दर्जनभन्दा बढी तीर्थयात्रीको मृत्यु भएको छ।
चमोली जिल्लाका मुख्य चिकित्सा अधिकारी डा. अभिषेक गुप्ताले यात्रा मार्गमा क्यूआर कोड राखिने घोषणा गरेका छन्। जसलाई स्क्यान गरेर श्रद्धालुहरूले चिकित्सक सहायता लिन सक्नेछन्।
यात्रामार्गमा श्रद्धालुहरूका लागि मेडिकल क्याम्पहरू राखिएका छन्। प्रत्येक यात्रुको स्वास्थ्य परीक्षण गर्नु सम्भव छैन। आवश्यक परेकाहरूले क्यूआर कोड स्क्यान गरेर मेडिकल सहायता लिन सक्छन्।
गुप्ताका अनुसार चमोलीमा ५४ हजारभन्दा बढी श्रद्धालुको स्वास्थ्य परीक्षण गरिएको थियो। तिनमा २८ हजारभन्दा बढी ५० वर्ष उमेरभन्दा माथिका थिए।
गुप्ताले भने, ‘हामीले मेमा ६ जना बिरामी तीर्थयात्रीलाई हवाई उद्धार गरेर अस्पतालमा भर्ना गराएका थियौँ।’
धेरै श्रद्धालुहरूले यात्राको मार्गमा पर्याप्त स्वास्थ्य सुविधा नभएको आरोप लगाएका छन्।
आसनसोलका एक तीर्थयात्री अभिजित बसुले भने, ‘मेडिकल क्याम्पहरू चिकित्सकविहीन छन्। सरकारी सुविधामा खाना राम्रो छैन र प्रहरीले तीर्थयात्रीहरूसँग दुर्व्यवहार गर्छ।’
पछिल्ला दुई दिनदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा केदारनाथमा प्रहरीहरूले तीर्थयात्रीहरूमाथि लाठी चार्ज गर्दै र धकेल्दै गरेको देखिएको छ।
पछिल्ला वर्षहरूमा यस तीर्थयात्रामा मृत्यु दर उच्च रहेको छ। सन् २०२४ मा २४६ तीर्थयात्रीको मृत्यु भएको थियो भने सन् २०२५ सिजनमा ८३ जनाको मृत्यु भएको थियो। यो तीर्थयात्रा उच्च पहाडी क्षेत्रमा हुँदै जान्छ, जहाँ अक्सिजनको मात्रा कम हुन्छ र बाटो निकै उकालो हुन्छ। यसले विशेषगरी वृद्ध तथा पहिल्यै स्वास्थ्य समस्या भएका तीर्थयात्रीहरूका लागि जोखिम बढाउँछ।




