सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलोपटक राष्ट्रियस्तरको १९ वर्षमुनीको टी २० राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
सन् २०२७ मा बंगलादेश र नेपालमा संयुक्त रूपमा आयोजना हुने उमेर समूहको महिला विश्वकप क्रिकेटमा प्रतिनिधित्व गर्ने नेपाली टोलीमा समावेश हुने महिला खेलाडीको छनोटका लागि प्रतियोगिता आयोजना हुन लागेको हो।
नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक कार्यक्रमअनुसार कर्णाली प्रदेश क्रिकेट संघको आयोजनामा आगामी जेठ २२ गतेदेखि असार १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।
मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले प्रतियोगितामा देशका सातवटै प्रदेशका महिला टोलीहरूको सहभागिता रहने जानकारी दिए।
कर्णालीमा महिला क्रिकेटको इतिहासमा यो पहिलो राष्ट्रिय प्रतियोगिता भएकाले यसलाई ऐतिहासिक अवसरका रूपमा लिइएको उनल उल्लेख गरे।
खड्काले गत वर्ष सफलतापूर्वक सम्पन्न गरिएको यू–१६ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितापछि कर्णालीले दोस्रोपटक राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने अवसर पाएको भन्दै यसले प्रदेशको क्षमता र सम्भावनालाई थप उजागर गर्ने विश्वास व्यक्त गरे।
प्रतियोगिताले देशभरका प्रतिभावान महिला क्रिकेटरलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै कर्णालीलाई राष्ट्रिय खेलकुद गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए।
प्रतियोगिताका लागि खेल मैदान, आवास, यातायात, सुरक्षा, स्वास्थ्य सेवालगायतका सम्पूर्ण व्यवस्थापकीय तयारी तीव्र रूपमा अघि बढाइएको आयोजकले जनाएको छ।
साथै, आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा समेत यस प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको कोषाध्यक्ष खड्काको भनाइ छ।
प्रतियोगितामा विजेता टोलीले ५ लाख रुपैयाँ तथा उपविजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ४० हजार रुपैयाँ, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ।
प्रतियोगिता अन्तर्गत हुने २२ खेलहरू वीरेन्द्रनगरको कालुङचोक र कर्णाली रंगशाला नजिकैको मैदानमा सञ्चालन गरिनेछ।




