सुर्खेतमा पृतनापति ट्रफी उद्घाटन, आठ खेलमा प्रतिस्पर्धा

हिमाल प्रेस २० जेठ २०८३ १५:३९ | Wednesday, June 3, 2026
12
SHARES
सुर्खेतमा पृतनापति ट्रफी उद्घाटन, आठ खेलमा प्रतिस्पर्धा

सुर्खेत- नेपाली सेनाको उत्तरपश्चिम पृतना मुख्यालयको आयोजनामा पृतनापति ट्रफी-२०८३ बुधबार सुर्खेतमा उद्घाटन गरिएको छ। सुर्खेत, जुम्ला र नेपालगन्जमा पृतनापति ट्रफीका खेल सञ्चालन हुनेछ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदू भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै सैनिकहरूमा अनुशासन, एकता, नेतृत्व, सामूहिक भावना तथा प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गरिएको हो।

प्रतियोगिताको उद्घाटन उत्तरपश्चिम पृतनापति उपरथी दीपेशजंग शाहले गरेका थिए। समारोहलाई सम्बोधन गर्दै उनले खेलकुद सैनिक जीवनको अभिन्न अंग भएको बताए। यसले शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका साथै नेतृत्व क्षमता र पेसागत दक्षता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो।

शाहले राष्ट्र, जनता र संस्थाप्रति समर्पित रहँदै कठिन परिस्थितिमा पनि कर्तव्य मार्गबाट विचलित नहुन सैनिकहरूलाई निर्देशन दिए।

पृतनापति शाहले नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा उत्कृष्ट खेलाडी उत्पादन गर्दै आएको जानकारी दिँदै सैनिक खेलकुद प्रतियोगिताले भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तयार पार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रतियोगितामा श्री नं.४ बाहिनी अड्डा र श्री नं.२४ बाहिनी अड्डाअन्तर्गतका विभिन्न गण तथा युनिटहरूको सहभागिता रहेको छ।

प्रतियोगिताअन्तर्गत फुटबल, भलिबल, बास्केटबल, एथलेटिक्स, तेक्वान्दो, जुडो, बक्सिङ र स्विमिङ गरी आठ विधामा प्रतिस्पर्धा हुनेछ।

सुर्खेतमा फुटबल, भलिबल र बास्केटबलका खेल सञ्चालन हुनेछन् भने जुम्लामा गुल्मस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिनेछ।

त्यसैगरी एथलेटिक्स, तेक्वान्दो, जुडो, बक्सिङ र स्विमिङका प्रतियोगिता नेपालगन्जस्थित श्री नं.४ बाहिनी अड्डामा सञ्चालन हुनेछन्।

बुधबार (जेठ २० गते) देखि सुरु भएको प्रतियोगिता जेठ २९ गतेसम्म सञ्चालन हुनेछ। फुटबल प्रतियोगितामा श्री कालीबहादुर गण, श्री बज्रदल गण, श्री भवानीदल गण तथा श्री देवीदत्त गणले सहभागिता जनाएका छन्।

उद्घाटन समारोहमा सैन्य परेड, झण्डा सलामी, कवाज निरीक्षण, खेलाडी परिचय, सांस्कृतिक झाँकी तथा तेक्वान्दो प्रदर्शन गरिएको थियो।

कर्णाली तथा पश्चिम नेपालको सांस्कृतिक पहिचान झल्काउने देउडा, कौडा, थारु तथा हुड्केली नृत्यसहित विभिन्न सांस्कृतिक प्रस्तुति आकर्षणको केन्द्र बनेका थिए।

नं.१ राजदल गणका गणपति प्रमुख सेनानी भद्रबहादुर सिंह ठकुरीको नेतृत्वमा आयोजित गरिएको थियो। नेपाली सेनाले हरेक वर्ष बाहिनीपति ट्रफी, पृतनापति ट्रफी तथा प्रधानसेनापति ट्रफी प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

यस्ता प्रतियोगितामार्फत सैनिकहरूमा सामूहिक भावना अभिवृद्धि गर्नुका साथै सक्षम खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा नेपाली सेनाको सहभागिता थप प्रभावकारी बनाउने लक्ष्य रहेको प्रमुख सेनानी सिंह ठकुरीले जानकारी दिए।

कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, खेलकुद परिषद्का पदाधिकारी, नेपाली सेनाका उच्च अधिकृत, सञ्चारकर्मी तथा खेलाडीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रकाशित: २० जेठ २०८३ १५:३९ | Wednesday, June 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast