‘लालीबजार’ बन्यो २०८३ मा सर्वाधिक कमाउने फिल्म, कति कमाए ‘परालको आगो’ र ‘मालती मङ्गले’ले?

हिमाल प्रेस १९ जेठ २०८३ ६:५५ | Tuesday, June 2, 2026
20
SHARES
‘लालीबजार’ बन्यो २०८३ मा सर्वाधिक कमाउने फिल्म, कति कमाए ‘परालको आगो’ र ‘मालती मङ्गले’ले?
काठमाडौँ- यस वर्ष २०८३ सालमा हालसम्म प्रदर्शन भएका फिल्ममध्ये सबैभन्दा बढी कमाई फिल्म ‘लालीबजार’ले  गरेको छ।
फिल्म विकास बोर्डले हाल फिल्म भवनमा प्रदर्शनरत नेपाली फिल्मको सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जेठ १६ गते शनिबारसम्म उक्त फिल्मले आठ करोड हाराहारीको कमाइ गरेको छ। बोर्डअन्तर्गतको ‘सिनेपा–२ बक्सअफिस’ मा उल्लेख भए अनुसार गत शनिबारसम्म फिल्म ‘लालीबजार’ ले रु सात करोड ९० लाख ३१ हजार ४७६ कमाई गरेको छ।
अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली फिल्म ‘लालीबजार’ को सोही अवधिमा कूल एक लाख ९६ हजार ४०६ टिकट बिक्री भएका छन्। गत वैशाख २५ गतेदेखि नेपालभरका फिल्म भवनमा प्रदर्शनमा आएको उक्त फिल्मले घरेलु बजारमा पाएको सफलताले फिल्मसँग जोडिएको सम्पूर्ण सदस्यलाई उत्साहित बनाएको अभिनेता रवीन्द्रसिंह बानियाँले बताए।
उक्त फिल्ममा अभिनेता बानियाँसँगै समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ। यस्तै, गत वैशाख ११ गते प्रदर्शन भएको फिल्म ‘परालको आगो’ ले रु चार करोड २७ लाख ८४ हजार ४४५ कमाई गरेको छ । सुशील पोखरेलले निर्माण गर्नुभएको उक्त फिल्मका लागी कुल एक लाख ५४ हजार ३४ टिकट बिक्री भएका छन् ।
लक्ष्मण सुनारको निर्देशनमा तयार भएको उक्त फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारीलगायत कलाकारले अभिनय गरेका छन् । यस्तै, गत २५ वैशाखदेखि नै प्रदर्शनरत नेपाली फिल्म ‘मालती मङ्गले’ ले रु ५१ लाख ७३ हजार ७९३ कमाई गरेको छ । उक्त फिल्मका लागि कुल १६ हजार १८८ टिकट बिक्री भएका छन् । गायक रामकृष्ण ढकालले निर्माण गर्नुभएको उक्त फिल्ममा वर्षा राउत, विजय बराल, मेक्सम गौडेललगायत कलाकारले अभिनय गरेका छन् । प्रकु पाण्डेयले निर्देशन गर्नुभएको उक्त फिल्मले घरेलुबजारमा राम्रो कमाइ गर्न सकेको छैन ।
गत वैशाख २५ मै प्रदर्शन भएको फिल्म ‘गुरु आमा’ ले रु २९ लाख ४२ हजार ५७६ कमाई गरेको छ । उक्त फिल्मका लागि कुल नौ हजार ३२७ टिकट बिक्री भएका छन् । प्रेम सोनी सुनारले निर्देशन गर्नुभएको उक्त फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टीका सानु, सुस्मा थापा, सुशील पोखरेल, ध्रुव कोइराला, उत्तम केसी, गिरीबहादुर पुनलगायत कलाकारले अभिनय गरेका छन्।
गत जेठ १ गतेदेखि प्रदर्शन भएको नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ ले रु पाँच लाख २१ हजार ८२५ कमाई गरेको छ । सहारा शर्माले निर्देशन गर्नुभएको उक्त फिल्मका लागि कूल एक हजार ५०५ टिकट बिक्री भएका छन्। उक्त फिल्ममा अभिनेत्री आँचल शर्मा, सहयोग अधिकारी, उषा रजक, निशा शर्मा लगायतले अभिनय गरेका छन्।
गत जेठ १ मै प्रदर्शन भएको फिल्म ‘लाइफ ड्यामेज’ ले रु ३३ लाख २६ हजार ३२० कमाई गरेको छ । निमेष श्रेष्ठले निर्देशन गर्नुभएको उक्त फिल्मका लागि कुल १० हजार ८५५ टिकट बिक्री भएका छन्। ‘फेन्टासी कमेडी ड्रामा’मा निर्माण गरिएको उक्त फिल्ममा सुरक्षा पन्त, निमेष श्रेष्ठ, ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनिश जङ्ग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायत कलाकारले अभिनय गरेका छन् ।
गत जेठ ८ मा प्रदर्शन भएका दुई फिल्म ‘काजी’ र ‘मित ज्यू’ ले दर्शकको राम्रो साथ पाएको छैन । यी दुई फिल्मले पहिलो साता सुखद व्यापार गर्न सकेको छैन । अभिनेत्री विपिन कार्की, अभिनेत्री केकी अधिकारी, गरिमा शर्माले अभिनय गरेको फिल्म ‘काजी’ ले रु ४० लाख ८८ हजार १७५ कमाएको छ । लक्ष्मण रिजालले निर्देशन गर्नुभएको उक्त फिल्मका लागि कुल १३ हजार सात वटा टिकट बिक्री भएका छन् । रामप्रसाद रिजालले निर्माण गरेको उक्त फिल्ममा ग्रामिण भेगको प्रेमकथा देखाइएको थियो ।
गत जेठ ८ मै प्रदर्शन भएको फिल्म ‘मितज्यू’ ले सोही अवधिमा रु एक करोड २० लाख ५९ हजार ८२ कमाई गरेको छ । अनिल बुढा मगरको निर्देशनमा तयार भएको उक्त फिल्मका लागि कुल ४१ हजार २४८ टिकट बिक्री भएका छन् ।  जनक घर्तीमगरले निर्माण गरेको उक्त फिल्ममा अभिनेता सौगात मल्ल, दयाहाङ राई, टेरिया फौजा मगरलगायत कलाकारले अभिनय गरेको छ ।
बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्सअफिस’ मा रहेको सार्वजनिक तथ्यांकअनुसार यस वर्ष जेठ मध्यसम्म प्रदर्शन भएका फिल्ममा घरेलुबजारमा सबैभन्दा बढी कमाइ गर्ने फिल्म ‘लालीबजार’ देखिएको छ । फिल्म विकास बोर्डले प्रत्येक सोमबार नेपाली फिल्मले गरेको कमाइको विवरण आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेको छ।
प्रकाशित: १९ जेठ २०८३ ६:५५ | Tuesday, June 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast