काठमाडौँ- सरकारले राजदूत नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। राजदूत नियुक्तिका लागि पहिलोपटक खुला दरखास्त आह्वान गरिएको हो।
परराष्ट्र मन्त्रालयले राजदूतका लागि इच्छुक व्यक्तिले जुन ५ भित्र दरखास्त दिनसक्ने जनाएको छ।
मन्त्रालयले भारत, चीन, अमेरिका, बेलायतसहित करिब डेढ दर्जन मुलुकमा रिक्त रहेका राजदूत नियुक्ति प्रक्रिया अगाडि बढाएको हो। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरूलाई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र वर्तमान सरकारले फिर्ता बोलाएपछि १७ वटा मुलुकका कूटनीतिक नियोगमा राजदूतहरू रिक्त छन्।
प्रधानमन्त्री वालेन्द्र नेतृत्वको सरकारले भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाइएको थियो।
त्यसअघि सुशीला कार्की नेतृत्वको सरकारले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत र जापानका राजदूतलाई फिर्ता बोलाएको थियो।
पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आह्वान गरेको परराष्ट्र मन्त्रालयले ‘टम्र्स अफ रिफरेन्स’ सहित दरखास्त आह्वान गरेको छ। राजदूत हुनका लागि कम्तीमा ३५ वर्ष पूरा भएको हुनुपर्नेछ। विशिष्ट श्रेणीसरहको यो पदका लागि कम्तीमा स्नातक अध्ययन गरेको हुनुपर्नेछ। स्नातकभन्दा माथिको शैक्षिक योग्यता र कार्यअनुभव योग्यतामा जोडिने छ।
मन्त्रिपरिषद्ले योग्यताअनुसार राजदूतको सिफारिस गर्नेछ। सिफारिस भएका व्यक्तिको संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्त गर्नेछन्।











