पोखरा बसपार्कअगाडिका भत्किए ठूला संरचना

हिमाल प्रेस १४ जेठ २०८३ १८:२० | Thursday, May 28, 2026
10
SHARES
पोखरा बसपार्कअगाडिका भत्किए ठूला संरचना

पोखरा– पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित हङकङ बजारअगाडिका विभिन्न संरचनामा बिहीबार डोजर चलाएको छ।

जसअनुसार, सहारा क्लब पोखरा, सामुदायिक प्रहरी सेवा, जिफन्ट गण्डकी, नेपाल ट्रेड युनियन कांग्रेस, हिमाली सांस्कृतिक परिवारको भवन, पसलहरु, सार्वजनिक शौचालयसमेतका संरचना भत्काइएको हो।

पोखरा महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न यसअघि सार्वजनिक सूचना जारी गरेकोमा त्यसको म्याद सकिएको हो।

बिहीबार बिहान ११ बजेपछि सुरक्षाकर्मी, जनप्रतिनिधि समेतको सहयोगमा दुई डोजर चलाइएको थियो।

यसअघि, सूचनाबमोजिम कतिपय संस्थाले आफ्ना भवन तथा संरचना खाली गराइसकेका थिए। सहारा क्लबले आफ्ना सामान दोबिल्लास्थित सहारा एकेडेमीमा लगेको छ। जिफन्ट, ट्रेड युनियन कांग्रेस, सामुदायिक प्रहरी सेवा, हिमाली सांस्कृतिक परिवारसमेतले आफ्ना सामान धमाधम सारेका थिए।

पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पृथ्वीचोक र आसपासको जग्गा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले लामो समयदेखि भोगचलन गर्दै आएका थिए।

डोजर चलाउँदा तीनतले भवन भत्किँदा फोटो खिच्नेहरूको ताँती लागेको थियो।

यसैबीच, फिर्केखोला घरको मापदण्ड मिचेर बनाइएका अवैध संरचनाहरू भत्काउने क्रम जारी छ। फिर्केखोला घरका कुल १ सय ६० संरचनामाथि डोजर लगाइने महानगरले जनाएको छ। तीमध्ये दुईतिहाइ संरचना भत्किसकेका छन्।

प्रकाशित: १४ जेठ २०८३ १८:२० | Thursday, May 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast