काठमाडौँ- दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटमध्ये एक मानिएको ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’ काठमाडौँमा आयोजना हुने भएको छ। आयोजकहरूले मंगलबार पत्रकार सम्मेलनमार्फत महोत्सवको औपचारिक घोषणा गरेका हुन्।
एनसेल फाउन्डेसनको सहकार्यमा सञ्चालन हुने ८ दिने महोत्सव सन् २०२६ मे २९ देखि जुन ५ सम्म काठमाडौँमा आयोजना हुनेछ। नेपाली साहित्यका अग्रणी कथाकार गुरु प्रसाद मैनालीको योगदानको सम्मानमा समर्पित हुने महोत्सवमा नेपालसहित विभिन्न देशका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, पत्रकार, चलचित्रकर्मी तथा उदाउदा लेखकहरूको सहभागिता रहनेछ।
यस वर्षको महोत्सव ‘हिलिङ, चेतना, सिर्जनशीलता, स्मृति र तीव्र परिवर्तनशील विश्वमा सांस्कृतिक संवाद’ विषयमा केन्द्रित रहने आयोजकले बताएका छन्।
कार्यक्रममा मास्टर क्लास, लेखन कार्यशाला, मुख्य वक्तव्य, कविता वाचन, साहित्यिक संवाद, चलचित्र प्रदर्शन, सांस्कृतिक भ्रमण तथा साहित्य र कलाको रूपान्तरणकारी भूमिकामाथि केन्द्रित अन्तरविषयक छलफल समावेश गरिनेछ।
महोत्सवमा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के.स्मिथ र पल मल्डुन, चर्चित उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज, कवि तथा अनुवादक टोनी बार्नस्टोन, हिमालयन कवि युयुत्सु शर्मा, आइरिश साहित्यिक सम्पादक मार्टिन डोयल तथा ब्रुकलिन पोएट लौरिएट टिना चाङलगायत नेपाल, भारत, आयरल्यान्ड, अस्ट्रिया, पोल्यान्ड, अमेरिका र अन्य देशका साहित्यिक व्यक्तित्व सहभागी हुनेछन्।
महोत्सवभरि कविता, संस्मरण, जादुई यथार्थवाद, कृत्रिम बुद्धिमत्ता (एआई) र सिर्जनात्मक लेखन, महिला साहित्य, आदिवासी आख्यान, आघात र हिलिङ, ध्यान र सिर्जना, अनुवाद, प्रस्तुति कला तथा डिजिटल युगमा साहित्यको भविष्यजस्ता विषयमा विशेष सत्र सञ्चालन गरिनेछ।
पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका आयोजक युयुत्सु शर्माले साहित्यलाई मानव सभ्यतासँगै विकसित भएको उपचार र चेतनाको महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गरे। उनले महोत्सवले नेपालको समृद्ध सांस्कृतिक सम्पदा र हिमाली सभ्यतालाई विश्वमाझ परिचित गराउन योगदान पुर्याउने बताए।
एनसेल फाउन्डेसनकी कर्पोरेट कम्युनिकेसन्स, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले साहित्य र कथावाचनले सांस्कृतिक सम्पदाको संरक्षण, सिर्जनशीलताको विकास तथा अर्थपूर्ण संवाद प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले महोत्सवमार्फत नेपाली साहित्यिक संस्कृतिलाई विश्व समुदायसँग जोड्न सहयोग गर्न पाउँदा गर्व लागेको उल्लेख गरिन्।
महोत्सवले युवा साहित्यकारहरूको क्षमता विकासलाई पनि प्राथमिकतामा राखेको छ। युवा कविता मञ्चन, मार्गदर्शन कार्यक्रम, लेखन कार्यशाला तथा अन्तर्राष्ट्रिय सहकार्यमार्फत नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गरिने आयोजकले जनाएको छ।
शैलेन्द्र साकार, नारायण ढकाल, हरि अधिकारी, उषा शेरचन र लक्ष्मी मालीलगायत नेपाली भाषाका साथै अङ्ग्रेजीमा लेख्ने नेपाली लेखक तथा कविहरूले पनि अन्तर्राष्ट्रिय साहित्यकारसँगै सहभागिता जनाउनेछन्।
कार्यक्रमअन्तर्गत कविता आधारित आइरिश, अस्ट्रियन र पोलिस चलचित्रहरूको प्रदर्शन गरिनुका साथै काठमाडौँ दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, बौद्धनाथ, बुढानीलकण्ठ र नगरकोटजस्ता सांस्कृतिक तथा प्राकृतिक सम्पदा स्थलहरूको भ्रमण पनि आयोजना गरिनेछ।
पत्रकार सम्मेलनमा आयरिश कवि तथा चिन्तक डोरेन नी घ्रीफाको जीवनमा आधारित ‘क्लाउडेड रेभरिज’, अस्ट्रियन कवि बोडो हेलमाथि आधारित ‘वाइड अवेक’ तथा २०७२ सालको भूकम्पको पृष्ठभूमिमा युयुत्सु शर्माको कवितामा आधारित ‘आई सी माई वर्ल्ड सेकिङ’ चलचित्रका ट्रेलरसमेत प्रदर्शन गरिएको थियो।




