नगरप्रमुखबाट शिक्षकमाथि हातपात भएपछि महासंघको भर्त्सना

हिमाल प्रेस ११ जेठ २०८३ १५:२३ | Monday, May 25, 2026
92
SHARES
नगरप्रमुखबाट शिक्षकमाथि हातपात भएपछि महासंघको भर्त्सना

काठमाडौँ- नेपाल शिक्षक महासंघ जिल्ला समिति तेह्रथुमले म्याङ्लुङ नगरपालिकाका नगरप्रमुखबाट शिक्षकमाथि दुर्व्यवहार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको घोर भर्त्सना गर्नुका साथै समस्याको शीघ्र समाधान गर्न माग गरेको छ।

नेपाल शिक्षक महासंघले सिंहवाहिनी माध्यमिक विद्यालयमा लामो समयदेखि कार्यरत माध्यमिक तहका शिक्षक चेतनप्रसाद सुवेदी, निम्न माध्यमिक शिक्षक सुवास कार्की तथा प्राथमिक शिक्षक सरला भण्डारीलगायतलाई जानकारी र सहमतिबिना अन्य विद्यालयमा सरुवा गरिएको जनाइएको छ।

महासंघका अनुसार सरुवासम्बन्धी थप जानकारी लिन खोज्ने क्रममा जेठ १० गते बिहान करिब ७ बजे सार्वजनिक स्थलमा भेट हुँदा नगर शिक्षा समितिका अध्यक्षसमेत रहेका म्याङ्लुङ नगरपालिकाका नगरप्रमुखले शिक्षक चेतनप्रसाद सुवेदीमाथि गालीगलौज, अपशब्द प्रयोग तथा सहयोगी कर्मचारीको सहयोगमा समातेर हातपात र लछारपछार गरेको आरोप लगाइएको छ।

महासंघले शिक्षा नियमावलीअनुसार स्थानीय तहले शैक्षिक सत्र सुरु हुनुअघि नै शिक्षक व्यवस्थापन र सरुवा कार्यविधि लागू गर्नुपर्ने व्यवस्था रहे पनि समय गुजारेर गरिएको दरबन्दी मिलानको नाममा भएको सरुवा प्रतिशोधपूर्ण र पूर्वाग्रही रहेको दाबी गरेको छ।

त्यसैगरी, शिक्षक सरुवा विद्यालय र शिक्षक दुवैको हितलाई ध्यानमा राखेर हुनुपर्ने, विद्यालयमा प्रचलित कानुनअनुसार प्रधानाध्यापक नियुक्त गर्नुपर्ने तथा विद्यालय व्यवस्थापन समिति गठन वा पुनर्गठनमा अनावश्यक हस्तक्षेप नगर्न स्थानीय तहलाई आग्रह गरिएको छ।

महासंघले नगरप्रमुखजस्तो सार्वजनिक पदमा रहेका व्यक्तिबाट शिक्षकमाथि गरिएको भनिएको दुर्व्यवहारलाई अपमानजनक, अराजक र प्रतिशोधपूर्ण गतिविधि भन्दै त्यसको घोर निन्दा गरेको छ। यस्ता गतिविधिले सिंहवाहिनी माध्यमिक विद्यालय मात्र नभई समग्र तेह्रथुम जिल्लाको शैक्षिक वातावरण प्रभावित भएको महासंघको ठहर छ।

महासंघले नगर शिक्षा समिति म्याङ्लुङसँग वार्ता र सहमतिका माध्यमबाट समस्याको तत्काल समाधान गर्न माग गरेको छ। अन्यथा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।

महासंघका जिल्ला अध्यक्ष अविनारायण पराजुली र सचिव मोहन सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वच्छ शैक्षिक वातावरण निर्माणका लागि महासंघ सदैव प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।

प्रकाशित: ११ जेठ २०८३ १५:२३ | Monday, May 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast