काठमाडौँ- अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली फिल्म ‘लालीबजार’ले दुई सातामा रु पाँच करोड २५ लाख कमाइ गरेको छ ।
गत वैशाख २५ गतेदेखि नेपालभरका फिल्म भवनमा प्रदर्शनमा आएको उक्त फिल्मले जेठ ७ गते बेलुकीसम्ममा उक्त कमाइ गरेको निर्माण कम्पनी षट्कोण आट्सले जनाएको छ ।
कम्पनीका प्रमुख म्याक्स दीपेश खत्रीका अनुसार फिल्मले १४ दिनमा घरेलु बजारमा गरेको कमाइ उत्साहजनक छ । उक्त फिल्मका निर्मातासमेत रहनुभएका खत्रीले तेस्रो सातामा प्राप्त ‘शो’ सङ्ख्याले आगामी दिनमा समेत राम्रो कमाइ गर्ने अपेक्षा गरे ।
उनले भने ‘हामीले घरेलु दर्शकबाट पाएको मायालाई धन्यवाद भन्ने कुनै शब्द नै छैन । हामीलाई विश्वास गरेर फिल्म हेर्न आएका दर्शक फर्किँदा सन्तुष्ट हुनुभएको छ, त्यो नै हाम्रो ठूलो सफलता हो । यसपटक हामीले सामाजिक दायित्वका रुपमा मनोरन्जनसँगै शिक्षाको ज्योतिले समाज र व्यक्तिमा पार्ने प्रभावलाई देखाएका थियौँ, दर्शकले रुचाउनुभयो, कृतज्ञ छौँ ।’
‘हामीले फिल्ममार्फत देखाउन खोजेको विषय र दिएको सन्देशलाई दर्शकले स्पष्ट बुझ्नुभएको छ, फिल्म हेरिसकेका दर्शकको प्रतिक्रिया लिन मसहित हाम्रो फिल्ममा आवद्ध कलाकार नेपालभर मुख्य सहरमा रहेका फिल्म भवन पुगेका थियौँ, सबै ठाउँमा दर्शकले उस्तै राम्रो प्रतिक्रिया दिनुभयो । देशभर फिल्मलाई जुन सोचका साथ ग्रहण गर्नुभएको छ, त्यो हाम्रो सफलता हो’, अभिनेत्री खड्काले भने ।
उनका अनुसार नेपालभर नै विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् । उक्त फिल्ममा अभिनेत्री खड्कासँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ ।




