पाँच पटकको च्याम्पियन चेन्नई प्लेअफ दौडबाट बाहिर, गुजरातको ८९ रनको फराकिलो जित

हिमाल प्रेस ८ जेठ २०८३ ५:४० | Friday, May 22, 2026
6
SHARES
पाँच पटकको च्याम्पियन चेन्नई प्लेअफ दौडबाट बाहिर, गुजरातको ८९ रनको फराकिलो जित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार भएको खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ८९ रनले पराजित गरेको छ। यस हारसँगै पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्सको यस सिजनको यात्रा समाप्त भएको छ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२९ रनको विशाल योगफल तयार गरेको थियो। जवाफमा चेन्नई १३.४ ओभरमै १४० रनमा अलआउट भयो।

गुजरातको जितमा साई सुदर्शनले ५३ बलमा ७ चौका र ४ छक्कासहित ८४ रनको उत्कृष्ट इनिङ्स खेले। कप्तान शुभमन गिलले ३७ बलमा ६४ रन जोडे। दुवैले पहिलो विकेटका लागि १२५ रनको महत्वपूर्ण साझेदारी गरे।

अन्तिम ओभरहरूमा जोस बटलरले २७ बलमा अविजित ५७ रन बनाउँदै टोलीको स्कोरलाई मजबुत बनाए। वासिङ्टन सुन्दरले ३ बलमा ७ रन जोडे।

चेन्नईका लागि मुकेश चौधरी, स्पेन्सर जोन्सन र अंशुल कम्बोजले समान १–१ विकेट लिए।

२३० रनको लक्ष्य पछ्याएको चेन्नईको सुरुआत अत्यन्त खराब रह्यो। पहिलो बलमै सञ्जु सैमसन खाता नखोली आउट भए। त्यसपछि कप्तान रुतुराज गायकवाडले तीव्र १६ रन बनाए पनि मोहम्मद सिराजको शिकार बने।

मोहम्मद सिराजले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए। म्याथ्यु सर्टले २४ रन बनाए भने शिवम दुबेले १७ बलमा ४७ रनको आक्रामक इनिङ्स खेल्दै टोलीलाई केही समय प्रतिस्पर्धामा राख्ने प्रयास गरे। अंशुल कम्बोजले ८ बलमा १९ रन जोडे पनि अन्य ब्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेनन्।

गुजरातका लागि सिराजसँगै कागिसो रबाडा र रशिद खानले समान ३–३ विकेट लिएर चेन्नईको ब्याटिङ धराशायी बनाए।

गुजरात टाइटन्समा शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर (विकेटकिपर), वासिङ्टन सुन्दर, निशान्त सिन्धु, जेसन होल्डर, राशिद खान, राहुल तेवतिया, अरशद खान, कगिसो रबाडा र मोहम्मद सिराज र चेन्नई सुपर किंग्समा ऋतुराज गायकवाड (कप्तान), सञ्जु स्यामसन (विकेटकिपर), उर्विल पटेल, डेवाल्ड ब्रेविस, शिवम दुबे, म्याथ्यु सर्ट, अंशुल कम्बोज, नूर अहमद, स्पेन्सर जोन्सन, मुकेश चौधरी र गुरजपनीत सिंह थिए

प्रकाशित: ८ जेठ २०८३ ५:४० | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast