काठमाडौँ- विपद्का घटनामा प्रभावकारी खोज तथा उद्धार कार्यलाई थप सुदृढ बनाउने उद्देश्यले नेपाली सेना र सशस्त्र प्रहरी बलले पोखराको फेवातालमा संयुक्त अभ्यास गरेका छन्।
जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा बिहीबार सम्पन्न अभ्यासमा जल दुर्घटना, डुबान तथा अन्य विपद्का समयमा गरिने खोज, उद्धार र राहत व्यवस्थापनका विभिन्न विधि प्रदर्शन गरिएको थियो।
अभ्यासमा उद्धारकर्मीले तालमा फसेका तथा डुबेका व्यक्तिको खोजी, उद्धार सामग्रीको प्रयोग, आपत्कालीन उद्धार प्रक्रिया तथा समन्वयात्मक कार्यशैलीको प्रदर्शन गरेका थिए।
कार्यक्रममा विपद्का बेला सुरक्षा निकायबीचको समन्वय, स्रोतसाधनको प्रभावकारी परिचालन तथा उद्धार क्षमताको अभिवृद्धिमा यस्ता अभ्यासले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको थियो।
नेपाली सेनाले भूकम्प, बाढी, पहिरो, आगलागी तथा महामारीजस्ता विभिन्न विपद्का समयमा लामो समयदेखि खोज, उद्धार तथा राहत कार्य गर्दै आएको छ।
सेनाले सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्थानीय प्रशासनसँग सहकार्य गर्दै नागरिकको जिउधनको सुरक्षाका लागि निरन्तर रूपमा विपद् व्यवस्थापनका गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।
मनसुनजन्य विपद्का घटनाको जोखिम बढिरहेका बेला आयोजित यस संयुक्त अभ्यासले उद्धारकर्मीको तयारी, दक्षता र आपसी समन्वयलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।





