युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव
काठमाडौँ- युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न गम्भीर रुपमा काम भइरहेको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले विभिन्न समयमा उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका ठगी नियन्त्रणलाई प्रभावकारी रूपमा काम भइरहेको बताएका हुन्।
वैदेशिक रोजगारीका क्षेत्रलाई मर्यादित बनाउन विद्यमान कानुनी व्यवस्था र संरचनाको परिचालन गरिने उनले बताए। उनले वैदेशिक रोजगारीका क्रममा ठगी घटनाहरुको उजुरीमा समेत मन्त्रालयले अध्ययन गरिरहेको उल्लेख गरे।
मन्त्री यादवले स्वदेशमा नै पर्याप्त रोजगारीको सिर्जना गर्दै युवाहरुलाई स्वदेशमा नै परिचालन गर्ने सरकारको मुख्य नीति भएको बताए।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको सुरक्षाका बारेमा सरकार पूर्णरुपमा चनाखो रहेको भन्दै उनले उद्धारको प्रतिक्षामा रहेका नेपालीहरुका बारेमा समेत सरकार संवेदनशील रहेको धारणा राखे।




