हेटौँडाको वन विज्ञान अध्ययन संस्थानको संग्रहालय प्रयोगविहीन

हिमाल प्रेस १८ माघ २०७९ ७:३६
4
SHARES
हेटौँडाको वन विज्ञान अध्ययन संस्थानको संग्रहालय प्रयोगविहीन

मकवानपुर- मकवानपुरको हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थानको हाताभित्र रहेको संग्रहालय संरक्षणको अभावमा प्रयोगविहीन अवस्थामा छ।

हेटाैँडामा वन पैदावार र वन्यजन्तुको संरक्षण तथा अध्ययन गर्नका लागि निर्माण गरिएको पुस्तकालयसहितको सो सङग्रहालय संरक्षणको पर्खाइमा छ। मित्रराष्ट्र भारत सरकारको सहयोगमा २०६३ सालमा निर्माण भएको सो सङ्ग्राहलयको संरक्षणका लागि पटकपटक माग भए पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको यहाँ अध्ययनरत् विद्यार्थी बताउँछन्।

भारतको दुई करोड ६० लाख रुपैयाँ लागतमा निर्माण भएको सो संग्रहालय सुरुआतमा सञ्चालनमा आए पनि पछि संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो । यहाँ रहेका महत्वपूर्ण सामग्री तथा संरचना संरक्षण अभावमा जीर्ण भइसकेका छन्।

संग्रहालयभित्र पुस्तकालय, वन विज्ञान, जडीबुटी, चराचुरुङ्गी, जनावर तथा वन्यजन्तुका अवशेष अध्ययन तथा अवलोकनका लागि राखिएका छन्। संग्रहालयलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न सकेमा आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ।

त्रिभुवन विश्वविद्यालय डिनको कार्यालयको बेवास्ताले न त संग्रहालय विद्यार्थीका लागि उपयोगी भएको छ न अवलोकनकर्तालाई नै आकिर्षत गर्न सकिएको छ। त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान र कृषि वन विज्ञान विश्वविद्यालयको बीचमा रहेको सो संग्रहालयको संरक्षणमा सरकारले र त्रिभुवन विश्वविद्यालयले चासो नदिएकाले लथालिङ्ग भएको वन विज्ञान अध्ययन संस्थानका कर्मचारीको गुनासो छ।

संग्रहालयका प्रमुख राजबाबु पहाडीले सरकारले प्राथमिकतामा नराखेकाले संग्रहालयले गति नलिएको बताए। ‘बजेटको अभाव भएको छ’, उनले भने। त्रिभुवन विश्वविद्यालयअन्तर्गत डिनको कार्यालयबाट सञ्चालित सङ्ग्रहालयको संरक्षणका लागि पटक–पटक ध्यानाकर्षण गराए पनि बेवस्ता गरिएको उहाँको भनाइ छ । यहाँ कर्मचारीको समेत अभाव छ।

वनविज्ञान अध्ययन संस्थानले विद्यार्थीको अध्ययनका लागि कक्षा कोठा, फर्निचर तथा भवन मर्मत गर्नुका साथै तारबार गरी सरसफाइमा जोड दिएको छ। हाताभित्र हाल शैक्षिक भवनको अगाडि सरस्वतीको मूर्ति स्थापित गरिएको सो संस्थानका प्रमुख शिवकुमार महाजनले जानकारी दिए।

प्रकाशित: १८ माघ २०७९ ७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =