प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनालाई डब्लुडब्लुएफको विशेष सम्मान

हिमाल प्रेस ५ जेठ २०८३ १७:३६ | Tuesday, May 19, 2026
6
SHARES
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनालाई डब्लुडब्लुएफको विशेष सम्मान

काठमाडौँ- विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले प्रकृति तथा पर्यावरण संरक्षण तथा सुरक्षा क्षेत्रमा नेपाली सेनाले पुर्‍याएको दीर्घकालीन योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरेको छ।

डब्लुडब्लुएफ नेपालको ३३औँ स्थापना दिवसको अवसरमा आज (२०८३ जेठ ५ गते) आयोजित एक कार्यक्रमकाबीच नेपाली सेनालाई उक्त सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा विगत करिब ५० वर्षदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्दै आएको भन्दै नेपाली सेनाको योगदानको प्रशंसा गरिएको थियो।

यस अवधिमा सन् २०११, २०१३, २०१५, २०१६, २०१८ र २०१९ लाई ‘शून्य शिकार वर्ष’ बनाउन सफल भएको योगदानका आधारमा सेनाका विभिन्न ६ वटा युनिटहरू यसअघि  अब्राहम संरक्षण पुरस्कारबाट सम्मानित भइसकेका थिए। बर्दिया राष्ट्रिय निकुञ्जले ‘डबल टाइगर अवार्ड’ समेत प्राप्त गरेको उल्लेख गरिएको छ।

नेपाली सेना वि.सं. २०३२ देखि औपचारिक रूपमा राष्ट्रिय निकुञ्जहरूको सुरक्षामा परिचालित हुँदै आएको हो। हाल सेनाले १२ वटा राष्ट्रिय निकुञ्ज, १ वन्यजन्तु आरक्ष र १ सिकार आरक्षको संरक्षणमा ८ वटा गण, ७ वटा अनाश्रित गुल्म तथा १ प्रकृति संरक्षण शिक्षालयमार्फत करिब ८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्दै आएको छ।

यसै प्रयासका कारण नेपालमा बाघ र गैँडाको संख्या उल्लेख्य रूपमा वृद्धि भएको तथ्यांक प्रस्तुत गरिएको छ। सन् २००९ मा १२१ रहेको पाटे बाघको संख्या हाल ३५५ पुगेको छ भने सन् २००५ मा ४०० रहेको एकसिँगे गैँडाको संख्या ७५२ पुगेको छ।

जटिल भौगोलिक अवस्था, मौसमी प्रतिकूलता र चुनौतीपूर्ण परिस्थितिकाबीच पनि नेपाली सेनाले संरक्षण जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै आएको जनाइएको छ। सो क्रममा हालसम्म ११६ जना सैनिकले वीरगति प्राप्त गरिसकेको पनि कार्यक्रममा स्मरण गरिएको थियो।

प्रकाशित: ५ जेठ २०८३ १७:३६ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast