नेपाली सेनाले गर्‍यो १४ सय किलोमिटर बढी सडक निर्माण

हिमाल प्रेस ५ जेठ २०८३ ११:३३ | Tuesday, May 19, 2026
6
SHARES
नेपाली सेनाले गर्‍यो १४ सय किलोमिटर बढी सडक निर्माण सडक निर्माण गर्दै नेपाली सेना। तस्बिर : नेपाली सेना

काठमाडौँ- नेपाली सेनाले ३२ वटा सडक आयोजना सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिसकेको छ। ती आयोजनाहरूको कुल लम्बाइ १४११.५४ किलोमिटर रहेको छ।

नेपालको संविधान २०७२ को धारा २६७ (४) ले नेपाली सेनालाई संघीय कानुन बमोजिम विकास निर्माण तथा विपद् व्यवस्थापन कार्यमा परिचालन गर्न सकिने व्यवस्था गरेको छ। राष्ट्रिय सुरक्षा नीति २०७५ ले पनि भौतिक पूर्वाधार विकासमा नेपाली सेनाको सहभागितालाई प्राथमिकतामा राखेको छ।

यही नीति तथा संवैधानिक व्यवस्था अनुरूप नेपाली सेनाले देशका विभिन्न दुर्गम तथा रणनीतिक क्षेत्रमा सडक निर्माण, करिडोर विकास तथा राष्ट्रिय गौरवका आयोजनामा सक्रिय भूमिका निर्वाह गर्दै आएको हो।

दुर्गम क्षेत्रमा सडक सञ्जाल विस्तार, राष्ट्रिय एकता सुदृढीकरण, आर्थिक गतिविधि प्रवर्द्धन तथा रणनीतिक पहुँच विस्तारमा नेपाली सेनाको भूमिका महत्वपूर्ण छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हालसम्म सम्पन्न भएका प्रमुख सडक आयोजनामध्ये कान्ति लोकमार्ग (६५ कि.मि.), भक्तपुर-नगरकोट सडक (२३ कि.मि.), कटारी-ओखलढुंगा सडक (८८ कि.मि.), गोरखा-मनकामना सडक (३६ कि.मि.), कर्णाली राजमार्गअन्तर्गत सुर्खेत-जुम्ला सडक (८८ कि.मि.), बाग्लुङ-बेनी-जोमसोम सडक (७५ कि.मि.), नाग्मा-गमगढी सडक (९४ कि.मि.), बेँशिसहर-चामे सडक (६५ कि.मि.) लगायत रहेका छन्।

त्यसैगरी जाजरकोट-डोल्पा (दुनै) सडक ११७.७७ किलोमिटर, कर्णाली करिडोरअन्तर्गत खुलालु-लैफु-सलिसल्ला खण्ड १२२.७५ किलोमिटर तथा कालिगण्डकी करिडोरको रिडि-मालढुंगा खण्ड ७५.३६ किलोमिटर सडक निर्माण पनि नेपाली सेनाले सम्पन्न गरेको जनाएको छ।

नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना मानिएको काठमाडौँ-तराई/मधेश द्रुतमार्गको पाइलट ट्र्याकअन्तर्गत ८० किलोमिटर सडक निर्माणसमेत सम्पन्न गरिसकेको छ। हाल सेनाले उक्त द्रुतमार्ग आयोजना तथा विभिन्न करिडोर सडक आयोजनामा निर्माण कार्यलाई तीव्रता दिएको छ।

प्रकाशित: ५ जेठ २०८३ ११:३३ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast