काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद राईले बाँदरले आम नागरिकलाई दुःख दिएको भन्दै मार्न पाउनुपर्ने माग गरेका थिए।
‘आज पनि धेरै माननीयज्यूहरूले कुरा उठाउनुभयो, बाँदर र बदेलहरूले आज पनि जनतालाई दुःख दिइरहेका छन्। यसको नीति कार्यक्रम हामीले कस्तो बनाउँदैछौँ? यसको विषयमा हामीले के लेख्दैछौँ? राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएर नबस्नुस्, बाँदरलाई सलामी देऊँ। यदि होइन भने, हामीलाई दुःख दिइरहेको छ,’ उनले भनेका थिए।
सांसद तामाङले उक्त अभिव्यक्तिमाथि आपत्ति जनाएकी हुन्। ‘उहाँले बाँदरलाई मार्न पाउनुपर्छ भनेर जुन अभिव्यक्ति दिनुभयो, त्यो फिर्ता होइन, पूरै काटेर फालिनुपर्छ। उहाँले ‘सलामी दिनुपर्ने’ भन्नुभयो, यो शब्द पनि आपत्तिजनक छ,’ उनले भनिन्।




