काठमाडौँ- प्रख्यात नेपाली आरोही कामीरिता शेर्पाले आइतबार ३२औँ पटक सगरमाथाको सफल आरोहण गरी विश्वकै सर्वोच्च शिखरमा सबैभन्दा बढी पटक पुग्ने आफ्नै कीर्तिमानलाई थप मजबुत बनाएका छन्।
आरोहण आयोजक ‘१४ पिक्स एक्सपेडिसन’ का अनुसार ५५ वर्षीय शेर्पाले ‘एडभेन्चर २४ १४ पिक्स एभरेष्ट एक्सपेडिसन २०२६’ को नेतृत्व गर्दै बिहान १०: १२ बजे ८,८४८.८६ मिटर अग्लो शिखरमा पाइला टेकेका हुन्।
कामीरिताले सन् १९९४ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। त्यसयता उनी हिमालयन पर्वतारोहण क्षेत्रकै सर्वाधिक प्रतिष्ठित व्यक्तित्व बनेका छन्।
‘तपाईंको यो उपलब्धि व्यक्तिगत कोसेढुंगा मात्र नभएर नेपाल र समग्र विश्वव्यापी आरोहण समुदायकै लागि एक गर्वको क्षण हो। हिमालयको गौरवमय भावनालाई विश्वसामु पुर्याउनु भएकोमा धन्यवाद,’ १४ पिक्स एक्सपेडिसनले सामाजिक सञ्जालमा लेखेको छ।
सगरमाथा क्षेत्रमै जन्मिएका कामीरिताले आफ्नो जीवनको अधिकांश समय हिमाली क्षेत्रमा काम गर्दै र विश्वभरका आरोहीहरूलाई सगरमाथा लगायत अन्य हिमालयन चुचुराहरूको सफल आरोहण गराउन गाइडको भूमिका निर्वाह गर्दै आएका छन्।
कामीरिताले सन् २०१८ मा आप्पा शेर्पाको २१ पटकको आरोहणको कीर्तिमान तोडेका थिए।




