अनलाइनमार्फत घरमै नक्सा प्राप्त

हिमाल प्रेस २ जेठ २०८३ ८:२० | Saturday, May 16, 2026
6
SHARES
अनलाइनमार्फत घरमै नक्सा प्राप्त

भोजपुर- प्रविधिको तीव्र विकाससँगै अब घरमै बसेर जग्गाको नक्सा प्राप्त गर्न सकिने व्यवस्थाले भोजपुरका नागरिकलाई सहजता भएको छ। नापी विभागअन्तर्गतका नापी कार्यालयले सेवा प्रवाहलाई सहज, छरितो र पारदर्शी बनाउने उद्देश्यले अनलाइन प्रणालीमार्फत जग्गाको नक्सा उपलब्ध गराउन थालेका हुन्।

यस व्यवस्थाले सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने झन्झटबाट मुक्त गरेको छ। इन्टरनेटको पहुँच भएको जुनसुकै स्थानबाट आवश्यक विवरण भरेर सजिलै आफ्नो जग्गाको नक्सा हेर्न, डाउनलोड गर्न तथा प्रिन्ट गर्न सकिने व्यवस्था मिलाइएको नापी कार्यालय भोजपुरका प्रमुख सागर गिरीले जानकारी दिए ।

गत साउन महिनाबाट ‘मेरो कित्ता’ नामको वेव साइटमार्फत घरबाट नै नक्सा लिने व्यवस्था सञ्चालन आएको उहाँले जानकारी दिए । यो सेवाले विशेषगरी दुर्गम तथा ग्रामीण भेगका नागरिकका लागि यो सेवा निकै उपयोगी रहेको उनको भनाइ छ।

उनका अनुसार अनलाइन प्रणालीमार्फत सेवा उपलब्ध गराउँदा समय, खर्च र जनशक्ति बचत हुनुका साथै सेवा प्रवाहमा पारदर्शिता र विश्वसनीयता बढेको छ । सेवाग्राहीले अब लामो लाइन बस्नुपर्ने, बिचौलियाको सहारा लिनुपर्ने तथा अनावश्यक खर्च बेहोर्नुपर्ने अवस्था अन्त्य भएको उनको भनाइ छ ।

प्रणालीमार्फत जग्गाको नक्सा लिनका लागि सेवाग्राहीले जिल्ला, स्थानीय तह, वडा नम्बर, कित्ता नम्बरलगायत आवश्यक विवरण प्रविष्ट गर्नुपर्ने हुन्छ । सो विवरणका आधारमा सम्बन्धित नक्सा तुरुन्तै प्रणालीमा देखिने र डाउनलोड गर्न मिल्ने व्यवस्था गरिएको छ । डिजिटल माध्यमबाट सेवा विस्तार गरिँदै जाँदा सरकारी कार्यालयमा हुने भीडभाड घट्नुका साथै कर्मचारीको कार्यदक्षता पनि बढ्ने देखिएको छ ।

स्थानीयस्तरमा पनि यस सेवाप्रति चासो बढ्दै गएको छ । प्रविधिको प्रयोगमा अभ्यस्त हुँदै गएका युवा पुस्ताले यो सेवाबाट प्रत्यक्ष लाभ लिइरहेका छन् । अन्य नागरिकलाई अनलाइन प्रणाली प्रयोगबारे जानकारी गराउनेकार्य भइरहेको कार्यालयले जनाएको छ ।

प्रकाशित: २ जेठ २०८३ ८:२० | Saturday, May 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast