काठमाडौँ- नेपाली सेनाले आयोजना गरेको छैटौं संस्करणको एकदिने ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३’ जङ्गी अड्डामा सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधानसेनापति अशोकराज सिग्देलले गरेका हुन्।
सूचना प्रविधिको तीव्र विकाससँगै बढ्दै गएको साइबर चुनौती, डाटा चुहावट तथा कृत्रिम बुद्धिमत्ता (एआई) बाट उत्पन्न हुनसक्ने सुरक्षा जोखिमलाई ध्यानमा राख्दै विभिन्न सरोकारवाला निकायबीच सहकार्य, समन्वय र सम्पर्क विस्तार गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको नेपाली सेनाले जनाएको छ।
कार्यक्रममा साइबर सुरक्षासम्बन्धी विषय विज्ञहरूले प्रस्तुतीकरण गरेका थिए भने सहभागीहरूबीच विभिन्न सम्भावित परिस्थितिलाई आधार बनाएर अन्तरक्रिया समेत सञ्चालन गरिएको थियो।
गोष्ठीमा विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधि, नेपाली सेना, अन्य सुरक्षा निकाय तथा साइबर सुरक्षासँग सम्बन्धित सरकारी एवं गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमले राष्ट्रियस्तरमा साइबर सुरक्षा रणनीति निर्माण, प्रविधिको सुरक्षित प्रयोगबारे साझा अवधारणा विकास तथा मुलुकको डिजिटल पूर्वाधारको सुरक्षा क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।



