बुटवल- रूपन्देहीमा लागुऔषध सेवन गरेर सार्वजनिक सवारी साधन चलाउने १७ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले “अपरेसन डेल्टा” सञ्चालन गर्दै सिद्धार्थ राजमार्गसहित विभिन्न भित्री सडकखण्डमा आकस्मिक चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार सार्वजनिक सवारीका चालकहरूले लागुऔषध सेवन गरी सवारी चलाइरहेको विशेष सूचनाका आधारमा संयुक्त टोली परिचालन गरिएको गर्दा १७ जना लाई भेटिएको जिल्ला प्रहरी कार्यलय रुपन्देही डिएसपी कृष्ण कुमार चन्दले बताए ।
अभियानमा जिल्ला प्रहरी कार्यालय रुपन्देही, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही तथा नेपाल लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगञ्जका प्राविधिक चिकित्सक सहभागी थिए।चेकजाँचका क्रममा यात्रु बोकेर सञ्चालनमा रहेका सार्वजनिक सवारीका १०० जना चालकको युरिन परीक्षण गरिएको थियो। परीक्षणका क्रममा १७ जनामा लागुऔषध सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चालकहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार आवश्यक कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।प्रहरीले लागुऔषध सेवन गरी सवारी चलाउँदा ठूला दुर्घटना तथा धनजनको क्षति हुन सक्ने भएकाले यस्ता अभियानलाई निरन्तरता दिइने जनाएको छ।



