फाइल तस्बिर
काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले रणनीतिक रुपमा महत्वपूर्ण मानिने ‘स्ट्रेट अफ होर्मुज’ मा इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावप्रति चिन्ता व्यक्त गरेका छन्।
शुक्रबार त्यो क्षेत्रमा दुई देशबीच भएको गोलीबारी र आक्रमणका घटनापछि महासचिव गुटेरेसले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनका प्रवक्ता स्टेफन डुजारिकले पत्रकार सम्मेलनमार्फत गुटेरेसको सन्देश प्रवाह गर्दै वर्तमान समय वार्ता र सम्झौताका लागि निकै संवेदनशील मोडमा रहेको उल्लेख गरे।
महासचिव गुटेरेसले थप सैन्य टकराव रोक्न दुवै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेका छन्। उनले चलिरहेको कूटनीतिक प्रयासहरूलाई कमजोर पार्ने वा क्षेत्रमा थप अस्थिरता पैदा गर्ने कुनै पनि गतिविधि नगर्न आह्वान गरेका छन्।
उनले तनाव बढाउने नभई शान्तिपूर्ण समाधान खोज्ने महत्वपूर्ण क्षण रहेको उल्लेख गरेका छन्।
विगत केही समयदेखि विश्वको प्रमुख तेल आपूर्ति मार्गका रूपमा रहेको होर्मुज जलक्षेत्रमा अमेरिका र इरानबीच तनाव चुलिएको छ। शान्ति स्थापनाका लागि विभिन्न अन्तर्राष्ट्रिय प्रयासहरू भइरहेका बेला शुक्रबार दुवै पक्षबीच भएको गोलीबारीले विश्व समुदायलाई चिन्तित तुल्याएको छ।
महासचिव गुटेरेसले यसअघि पनि मध्यपूर्वी क्षेत्रमा हुन सक्ने सम्भावित युद्धले विश्व अर्थतन्त्र र सुरक्षामा गम्भीर असर पु¥याउने भन्दै सचेत गराउँदै आएका छन्।
प्रवक्ता डुजारिकका अनुसार महासचिव गुटेरेसले स्थितिलाई साम्य पार्न सबै सरोकारवाला पक्षहरूसँग संवादका लागि अपिल गरेका छन्।



