बायर्न म्युनिखलाई हराउँदै च्याम्पियन्स लिगको फाइनलमा पीएसजी, उपाधिका लागि आर्सनलसँग भेट्ने

हिमाल प्रेस २४ वैशाख २०८३ ८:२५ | Thursday, May 7, 2026
बायर्न म्युनिखलाई हराउँदै च्याम्पियन्स लिगको फाइनलमा पीएसजी, उपाधिका लागि आर्सनलसँग भेट्ने

काठमाडौँ- पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले बायर्न म्युनिखलाई हराउँदै च्याम्पियन्स लिगको फाइनलमा आर्सनलसँगको भेट पक्का गरेको छ। साबिक विजेता पिएसजी यसपटक पनि आफ्नो उपाधि रक्षा गर्ने लक्ष्यमा बलियो देखिएको छ।

पेरिसमा भएको पहिलो लेगमा ५-४ को रोमाञ्चक अग्रता लिएको लुइस एनरिकको टोलीका लागि दोस्रो लेगको खेल अघिल्लो जस्तो नाटकीय त रहेन, तर निकै उच्च स्तरको थियो। बायर्नका लागि ह्यारी केनले खेलको अन्तिम समयमा सिजनको ५५ औँ गोल गरे पनि प्रशिक्षक भिन्सेन्ट कोम्पनीको टोलीलाई हारबाट जोगाउन सकेनन्।

खेल सुरु भएको तेस्रो मिनेटमै जर्जियन स्टार ख्विचा कभारात्स्खेलियाको उत्कृष्ट पासमा ओस्मान डेम्बेलेले गोल गर्दै पिएसजी लाई अग्रता दिलाएका थिए। घरेलु मैदानमा बायर्नले पुनरागमनका लागि निकै प्रयास गरे पनि पिएसजी को रक्षापङ्तिले ह्यारी केनलाई खुलेर खेल्न दिएन।

पहिलो हाफमा बायर्नले पेनाल्टीको माग गरेको थियो। भिटिन्हाले प्रहार गरेको बल आफ्नै टोलीका खेलाडी जोआओ नेभेसको हातमा लागेको थियो। तर, फुटबलको नियमअनुसार आफ्नै सहकर्मीले प्रहार गरेको बल हातमा लाग्दा पेनाल्टी नहुने भएकाले रेफ्रीले पेनाल्टी दिएनन्।

दोस्रो हाफमा पनि पिएसजी ले गोलका राम्रा अवसरहरू बनाएको थियो। डेसिरे डौएले केही सुन्दर प्रहार गरे पनि बायर्नका गोलकिपर म्यानुएल नोयरले उत्कृष्ट बचाउ गरे। अन्ततः बायर्नले नतिजा उल्टाउन सकेन र पिएसजी फाइनलमा प्रवेश गर्‍यो।

अब आगामी मे ३०, शनिबारका दिन बुडापेस्टमा हुने फाइनल खेलमा पिएसजी ले आर्सनलको सामना गर्नेछ। प्रशिक्षक लुइस एनरिकको नेतृत्वमा पिएसजी लगातार दोस्रो पटक फाइनलमा पुगेको हो। गत सिजन म्यानचेस्टर सिटी, लिभरपुल र आर्सनल जस्ता ठूला टोलीलाई हराउँदै फाइनलमा इन्टर मिलानलाई ५-० ले पन्छाएर पिएसजीले उपाधि जितेको थियो।

अनुभवी मार्किनहोसको कप्तानीमा रहेको बलियो रक्षापङ्ति, भिटिन्हाको उत्कृष्ट मिडफिल्ड र कभारात्स्खेलिया तथा डेम्बेलेको आक्रामक जोडीका कारण पिएसजी अहिले निकै पूर्ण र शक्तिशाली देखिएको छ। पहिलो पटक च्याम्पियन्स लिग जित्ने सपना बुनेको आर्सनलका लागि यो पिएसजी टोली ठूलो तगारो बन्ने देखिन्छ।

प्रकाशित: २४ वैशाख २०८३ ८:२५ | Thursday, May 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast