काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले अर्को हार बेहोरेको छ। प्रतियोगितामा लगातार छैटौं हार बेहोर्ने क्रममा सोमबार राति मुम्बईमा सम्पन्न खेलमा लखनउ घरेलु टोलीसँग ६ विकेटले पराजित भएको हो। ब्याटिङमा राम्रो प्रदर्शन गरे पनि बलिङमा चुक्दा लखनउ पराजित हुन पुग्यो।
लखनउले दिएको २२९ रनको लक्ष्य मुम्बई ८ बल बाँकी रहदै मात्र ४ विकेट गुमाएर पूरा गर्यो। मुम्बईको जितमा ओपनर रोहित शर्माले ४४ बलमा ६ चौका र ७ छक्काको सहयोगमा सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ खेलेर आउट भए।
पहिलो विकेटका लागि रोहितले अर्का ओपनर रायन रिकल्टनसँग मिलेर ६५ बलमा १४३ रनको शतकीय साझेदारी गरे। रिकल्टन ३२ बलमा ६ चौका र ८ छक्काको सहयोगमा ८३ रनको अर्धशतकीय इनिङ खेल्दै पेभेलियन फर्किए।
नमन धिर २३ रनमा अविजित रहँदा कप्तान सुर्यकुमार यादव १२ तथा तिलक बर्मा ११ रनमा आउट भए। लखनउका लागि मनिमरन सिद्धार्थले २ तथा मोहम्मद सामी र मोसिन खानले समान १ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२८ रनको योगफल तयार गरेको थियो। लखनउका लागि निकोलस पुरनले २१ बलमा १ चौका र ८ छक्काको सहयोगमा सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।
ओपनर मिचेल मार्श २५ बलमा ४४, कप्तान रिषभ पन्त १५ तथा जोश इग्लिस १३ रनमा आउट हुँदा हिम्मत सिंह ४० तथा एडेन मारक्रम ३१ रनमा अविजित रहे । मुम्बईका लागि कोर्बिन बोसले २ तथा अल्लाह गजान्फर, विल ज्याक्स र रघु शर्माले समान १ विकेट लिए।
जित पछि मुम्बई १० खेलमा ६ अंक साथ तालिकाको पुछारबाट नवौं स्थानमा उक्लिएको छ। पराजित लखनउ भने ९ खेलमा ४ अंकका साथ तालिकाको पुछारमा छ।



