नेकपाले ५० प्रतिशत युवालाई नेतृत्वमा ल्याउने

हिमाल प्रेस १६ वैशाख २०८३ ८:२९ | Wednesday, April 29, 2026
नेकपाले ५० प्रतिशत युवालाई नेतृत्वमा ल्याउने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका सबै कमिटीहरुमा ५० प्रतिशत युवालाई नेतृत्वमा ल्याउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यसंयोजन समिति आजको बैठकले सो निर्णय गरेको हो।
संयोजक पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकको समापनमा तत्कालीन योजनाको चार बुँदे रुपरेखा प्रस्तुत गरेका थिए। सो प्रस्तावलाई बैठकले पास गरेको एक पदाधिकारीले जानकारी दिए।

प्रचण्डले प्रस्तुत गरेको योजनाको रुपरेखाको पहिलो नम्बरमा पार्टी पुनर्गठनको विषय छ। त्यसमा ‘वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक स्पष्टतासहित पार्टी पुनर्गठन प्रक्रियालाई महाधिवेशनसम्म पूर्णता दिने’ उल्लेख छ।  दोस्रो बुँदामा पार्टीका हरेक तहमा निर्वाचित कमिटी बनाउने उल्लेख छ । ‘वडादेखि केन्द्रसम्म सानो, चुस्तदुरुस्त निर्वाचित कमिटी बनाउने र त्यसमा ५० प्रतिशतसम्म युवा र नवयुवाहरुलाई नेतृत्वमा ल्याउने निर्णय भएको छ,’ ती पदाधिकारीले भने।

यसैगरी पार्टी पुनर्गठनसँगै सिंगो कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि वाम एकता र ध्रुवीकरणमा जोड दिने विषय पनि उल्लेख छ। संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिबीच साझा समझदारी बनाएर राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा पहलकदमी लिने निर्णय पनि नेकपाले गरेको छ।

यसैगरी अन्तर्राष्ट्रिय क्षेत्रमा वैचारिक, राजनीतिक र कूटनीतिक तहबाट योजनाबद्ध ढंगले पहलकदमी लिने निर्णय पनि नेकपाले गरेको एक पदाधिकारीले जानकारी दिए।

प्रकाशित: १६ वैशाख २०८३ ८:२९ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast