इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकको जिम्मेवारी बाँड्दै नेकपा

हिमाल प्रेस १४ वैशाख २०८३ ६:२३ | Monday, April 27, 2026
10
SHARES
इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकको जिम्मेवारी बाँड्दै नेकपा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज (सोमबार) बस्दै छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने यस बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ।

नेता प्रकाश ज्वालाका अनुसार आजको बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिने सम्भावना रहेको छ।

बैठकमा चुनावी समीक्षा प्रतिवेदनको अनुमोदन र सांगठनिक जिम्मेवारीको बाँडफाँट लगायतका प्रस्ताव आउन सक्ने ज्वालाले बताए । यसअघि वैशाख ३ गतेको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै संयोजक र सह–संयोजकले निर्णय प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएका थिए, जसलाई आजको बैठकले अनुमोदन गर्ने बताइएको छ।

सांगठनिक संरचनाका सन्दर्भमा प्रदेश इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकको जिम्मेवारी वरिष्ठ नेताहरूबाटै तोक्ने तयारी गरिएको छ। जिम्मेवारी बाँडफाँट गर्दा साविकका दुई पार्टी माओवादी केन्द्र र एकीकृत समाजवादी बिच सन्तुलन कायम गर्ने मापदण्ड बनाइएको छ । जसअनुसार कुनै प्रदेशमा माओवादी केन्द्रले इन्चार्ज पाएमा एकीकृत समाजवादीले सहइन्चार्ज पाउनेछ भने एकीकृत समाजवादीले इन्चार्ज पाएको प्रदेशमा माओवादी केन्द्रले सहइन्चार्जको जिम्मेवारी पाउनेछ।भूगोलमा जस्तै ३२ वटा विभागहरूमा पनि प्रमुख र उपप्रमुखको जिम्मेवारी बाँडफाँट गरिनेछ।

बैठकले विधान बमोजिम १२५ सदस्यीय केन्द्रीय सचिवालय र ६०१ सदस्यीय केन्द्रीय कार्य समितिलाई पूर्णता दिने प्रस्तावमाथि पनि छलफल गर्नेछ । तल्लो तहका पालिका र जिल्लाको एकता एवं समायोजनको जिम्मा सम्बन्धित प्रदेशलाई नै दिने तयारी छ । यसका साथै, जनवर्गीय संगठन र मोर्चाको एकता, सदस्यता नवीकरण र एकताको मापदण्डका विषयमा समेत आजै निर्णय हुन सक्ने बताइएको छ।

पार्टीको आगामी कार्यदिशा र महाधिवेशनका सम्बन्धमा पनि आजको बैठक निर्णायक हुने देखिएको छ। ६ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ वडा तहदेखि नै अधिवेशनको प्रक्रिया अघि बढाउन बैठकले महाधिवेशनको मिति तय गर्ने सक्ने नेता ज्वालाले बताए ।

 

प्रकाशित: १४ वैशाख २०८३ ६:२३ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast