आईपीएल : मुम्बईलाई चेन्नईले १०३ रनले हरायो, सञ्जु स्यामसनको शतक

हिमाल प्रेस ११ वैशाख २०८३ ६:३४ | Friday, April 24, 2026
6
SHARES
आईपीएल : मुम्बईलाई चेन्नईले १०३ रनले हरायो, सञ्जु स्यामसनको शतक

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा पाँच पटकको विजेता मुम्बई इन्डियन्सले आफ्नो इतिहासकै सबैभन्दा ठूलो हार व्यहोरेको छ। बिहीबार मुम्बईस्थित वानखेडे रंगशालामा भएको खेलमा चेन्नई सुपर किंग्सले मुम्बईलाई १०३ रनले हराएको हो।

यसअघि मुम्बईको सबैभन्दा ठूलो हार २०१३ मा राजस्थान रोयल्सविरुद्ध ८७ रनको थियो। उता चेन्नईका लागि पनि यो सबैभन्दा ठूलो जित बनेको छ। यसअघि उसले २०१५ मा पञ्जाबविरुद्ध ९७ रनले जितेको थियो।

टस जितेर पहिले बलिङ रोजेको मुम्बईविरुद्ध चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०७ रन बनाउँदै २०८ रनको लक्ष्य दिएको थियो।

जवाफमा मुम्बई १९ ओभरमै १०४ रनमा समेटियो। तिलक वर्माले ३७ र सूर्यकुमार यादवले ३६ रन बनाए पनि अन्य खेलाडी टिक्न सकेनन्।

चेन्नईका लागि अकील हुसैनले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने नूर अहमदले २ विकेट लिए।

यसअघि ब्याटिङतर्फ चेन्नईका सञ्जु स्यामसनले अविजित १०१ रन बनाउँदै शतक प्रहार गरे। यो यस सिजनमा उनको दोस्रो शतक हो। उनले यसअघि अप्रिल ११ मा दिल्लीविरुद्ध पनि शतक बनाएका थिए। समग्रमा यो उनको आईपीएल यात्राको पाँचौँ शतक हो। उनले आफ्नो पारीमा १० चौका र ६ छक्का प्रहार गरे।

चेन्नईका लागि ऋतुराज गायकवाडले २२ र डेवाल्ड ब्रेविसले २१ रनको योगदान दिए। मुम्बईका बलरमध्ये अल्लाह गजनफर र अश्विनी कुमारले २-२ विकेट लिए भने जसप्रित बुमराह र मिचेल स्यान्टनरले १-१ विकेट लिए।

यस हारपछि मुम्बई ७ खेलमा २ जितसहित ४ अंक लिएर आठौँ स्थानमा छ। अब प्लेअफमा पुग्न उसले बाँकी ७ खेलमध्ये कम्तीमा ६ खेल जित्नुपर्ने दबाबमा छ। उता चेन्नई ७ खेलमा ३ जितसहित ६ अंक जोड्दै पाँचौँ स्थानमा पुगेको छ।

प्रकाशित: ११ वैशाख २०८३ ६:३४ | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast