मुस्ताङमा भेटियो भित्ता खोपेर निर्माण गरिएका गुफाभित्र पनि गुम्बा

हिमाल प्रेस ५ वैशाख २०८३ १३:५३ | Saturday, April 18, 2026
6
SHARES
मुस्ताङमा भेटियो भित्ता खोपेर निर्माण गरिएका गुफाभित्र पनि गुम्बा

काठमाडौँ- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ छुसाङमा राताम्मे पहाडको भित्ता खोपेर निर्माण गरिएका गुफाभित्र पनि गुम्बा छ। यो गुम्बामा प्रतिस्थापन गरिएको मूर्तिहरूको इतिहास बुझ्दा गुफाभित्र रहेको गुम्बा करिब एक हजार २०० भन्दा बढी पुरानो हो।

जोमसोम हुँदै कागबेनी-कोरला सडकको नजिकै भिरालो सतहमा अवस्थित गुफाभित्रको गुम्बालाई ‘मिन्ची ल्हवङ’ गुम्बा भन्ने गरिएको छ। यो गुफाभित्रको धार्मिक बुद्धिस गुम्बा छुसाङगाउँका छ परिवारको स्वामित्वमा छ। यहाँ दैनिक साँझ छ परिवारका व्यक्तिले बर्सेनि आलोपालो गरी बत्ती बाल्ने र पूजाआजा गर्ने गर्दछन्।

कोरला सडकमार्गको माथि भिरालो सतहमा अवस्थित गुफा निकै जोखिमयुक्त स्थानमा अवस्थित छ। परापूर्व कालमा छुसाङ गाउँका पूर्खाहरूले यहाँ पहाड खोपेर गुम्बा प्रतिस्थापन गरेका स्थानीय बताउँछन्। यहाँको गुम्बा कति वर्ष पुरानो हो भन्ने तथ्य स्वयं गुम्बाको स्वामित्व बोकेका पछिल्ला पुस्तालाई यकिन जानकारी नभएको छ परिवारमध्येका स्थानीय श्याम गुरुङले जानकारी दिए। परापूर्वकालमा मनाङबाट आएका पूर्खाले आफ्नो देवतालाई साथै लिएर छुसाङ गाउँमा स्थानान्तरण भएको भन्ने विश्वास रहँदै आएको उनले बताए।

निकै कमजोर भूसतहमा अवस्थित गुफा आफैँमा जोखिम स्थानमा रहेको जनाउँदै स्थानीय गुरुङले पुरातात्विक र ऐतिहासिक महत्त्वको यस गुफा र भित्र रहेको गुम्बा संरक्षण गर्नुपर्ने अभिभारा यहाँका छ परिवारलाई रहेको बताए। उनका अनुसार वर्षौंदेखि यिनै छ परिवारका पुस्ताले गुफा र गुम्बा संरक्षण गर्दै आइरहेका छन्।

करिब एक सय मिटर अग्लो माटोको पहाडमा रहेको गुफामा भूक्षय र बाढीले क्षति पुर्याउन सक्ने जोखिम रहेकाले सरोकार भएका निकायले यसको संरक्षण गर्नुपर्नेमा स्थानीय गुरुङले जोड दिए। भगवान्को शक्तिले गुफा र गुफाभित्रको गुम्बामा हालसम्म कुनै असर नभएको उहाँले उल्लेख गरे।

यस अनौठो गुफाभित्रको माथिल्लो तलामा गुम्बा प्रतिस्थापन गरिएको छ। गुम्बामा अधिकांश माटोद्वारा निर्मित बुद्धका विभिन्न स्वरुपका मूर्तिहरू ८०० वर्षभन्दा बढी पुराना रहेका स्थानीय गुरुङले जानकारी दिए। एउटा फ्रेम ९चौघेरो० भित्र राखिएको हरिताराको ढुङ्गाको मूर्ति एक हजार २०० वर्ष पुरानो मानिएको उनले विश्वास छ।

मिन्ची ल्हवङ गुम्बाको ओढारभित्र वर्षौँ पुराना कलात्मक पेन्टिङहरू छन्। गुफाको भूगोलसँग मिल्दो माटोको रङ्गले गुफाको माथिल्लो तलाको भित्ता र सिलिङमा पेन्टिङ देख्न सकिन्छ।

ुगुफाको दोस्रो तलामाथिको एउटा कुनामा बुद्धका मूर्तिहरू छन्। यहाँ गुम्बा परिक्रममा गर्ने ठाउँ छ। गुफाभित्रको गुम्बालाई केही विदेश संस्थाका अनुसन्धानकर्ताले पनि अध्ययन पनि गरिसकेका छन्ु, स्थानीय गुरुङले भने। गुम्बा संरक्षणका लागि विदेशीले प्राविधिक तथा आर्थिक सहयोग गरी गुम्बा मर्मतसम्भार कार्यमा सहयोग गरेका छन्।।

छुसाङको भिरालो पाखोमा अवस्थित गुम्बा, गुफाभित्रको पहिलो तला र दोस्रो तलामा उज्यालोका लागि झ्याल जस्ता केही प्वालहरू बनाइएका छन्। गुफाको भुइँतलाबाट माथि उक्लिन दुई वटा काठका भर्‍याङ छन्। भर्‍याङ चढेर गुफाको माथिल्लो तलामा पुग्न सकिन्छ। रासस

प्रकाशित: ५ वैशाख २०८३ १३:५३ | Saturday, April 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast