हत्या गरिएकी सिर्जना र बोरामा राखेर खुँडा लिई हिँडेका शिशिर (दायाँ) ।
पोखरा- पोखरामा गत साता धारिलो हतियार प्रयोग गरी भएको हत्याकाण्डमा थप दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले मुख्य अभियुक्तको बयान तथा घटनाको सूक्ष्म अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न रहेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको जानकारी दिए।
कार्कीका अनुसार मुख्य अभियुक्त र मतियारलाई भगाउन सहयोग गरेको भन्ने बयानका आधारमा पर्वतको कुष्मा–११ स्थायी घर भई हाल पोखरा-५, जिरो किलोमिटर बस्ने २४ वर्षीय वसन्त केसी र फलेबास-९, भंगरा स्थायी घर भई हाल पोखरा-१६, लामाचौर बस्ने वर्ष २७ का नवराज पौडेल क्षत्रीलाई पक्राउ गरिएको हो।
उनीहरूलाई मतियार सहयोगी मतियारको रूपमा कारबाही अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जनाए। घटनामा सम्बन्धित अन्य मतियार, योजनाकार, सहयोगी भए/नभएकोबारे पनि अनुसन्धान जारी रहेको उनले बताए।
गत चैत २५ गते राति सवा ७ बजे पोखराको व्यस्त बजारमध्ये एक सभागृह चोकमा पसल बन्द गरी घरतर्फ जान भनी पैदल हिँडिरहेकी ४२ वर्षीय सिर्जना पौडेल केसीमाथि धारिलो हतियार खुँडा प्रहार भएको थियो।
उक्त कर्तव्य ज्यान मुद्दामा कास्की प्रहरीले मुख्य अभियुक्तसहित अर्का एक जना मतियारलाई घटनाको दुई दिनभित्रै पक्राउ गरी सार्वजनिक गरेको थियो। तीमध्ये मुख्य अभियुक्त मृतककै भान्जा नाताका पर्वतको कुश्मा–११, शिल्मी घर भई हाल पोखरा–६ मा डेरा गरी बस्दै आएका २७ वर्षीय सन्तोष भनिने शिशिर केसी हुन्।
त्यस्तै, मतियार रूपमा पोखरा–१७, रातोपहिरा निवासी ३२ वर्षीय कुशल परियार पनि पक्राउ परेका छन्। केसीलाई रुपन्देही प्रहरीको सहयोगमा बुटवल–२, मनकामना टोलबाट र परियारलाई पोखराबाटै पक्राउ गरिएको थियो।

प्रहरीले २७ चैतमा गरेको पत्रकार सम्मेलनमा उक्त घटना घट्नुमा पारिवारिक बेमेल तथा अंश सम्पत्ति मुख्य कारण रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाइएको थियो।
घटनामा प्रयोग गरिएको ग२५प ३०४४ नम्बरको स्कुटर तथा धारिलो हतियार खुँडा प्रहरीले बरामद गरिसकेको छ।
पति गुमाएपछि ४ वर्षीया छोरीका साथ एकल जीवन बाँच्दै आएकी पोखरा-५, मालेपाटन घर भई हाल पोखराको सेदी बस्दै आएकी सिर्जनालाई स्कुटर चढी आएका दुई जना युवाले एक्कासि धारिलो हतियार खुँडा प्रहार गरी भागेका थिए। टाउकोमा गम्भीर चोट लागेको उनलाई नजिकैको अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
माइजूको हत्या गर्नका लागि एक महिनादेखि योजना बुनिरहेको बताउने शिशिरले उक्त दिन परियारलाई ‘एउटा काम छ, पैसा दिन्छु’ भनी स्कुटर चलाउन लगाएर बोरामा खुँडा बोकेर आएको खुलेको छ। अलि-अलि रात पर्दै गरेको र पसल सटरहरु पनि बन्दै हुँदै गरेको मौका छोपी उनीहरूले हतियार प्रहार गरी भाग्न सफल भएका थिए। तर प्रहरीले दुई दिन नबित्दै पक्राउ गर्न सफल भएको हो।
पोखराको जिरो किमीमा मासु व्यवसाय गर्दै आएका खसी कृष्णे भनेर चिनिने कृष्ण क्षेत्रीले जेठी श्रीमतीको विष सेवन गरेर मृत्युपछि सिर्जनासँग ९ वर्षअघि दोस्रो विवाह गरेका थिए।
खसी कृष्णको पनि दुई वर्षअघि मृत्यु भएको थियो। उनका जेठी श्रीमतीतर्फ एक छोरा र एक छोरी छन्। छोरा भने लागुऔषध मुद्दामा कास्की कारागारमा सजाय भोगिरहेको खुलेको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताए।
पतिको निधनपछि परिवारका सदस्यहरुबीच अंश सम्पत्तिमा किचलो उत्पन्न भएको थियो। सिर्जनाले कास्की जिल्ला अदालतमा मुद्दासमेत दायर गरेकी थिइन्। बकसपत्रसम्बन्धी मुद्दामा अदालतले उनको पक्षमा फैसला गरेको थियो।





