कालजयी गीतहरू छाडेर अनन्त यात्रामा आशा भोस्ले

सुस्मिता बजगाईं २९ चैत २०८२ १६:१७ | Sunday, April 12, 2026
32
SHARES
कालजयी गीतहरू छाडेर अनन्त यात्रामा आशा भोस्ले

काठमाडौँ- भारतकी प्रसिद्ध र बहुआयामिक प्रभावशाली पार्श्वगायिकामध्ये एक हुन् आशा भोस्ले। उनको स्वरले भारत मात्र होइन, नेपाल, पाकिस्तान, बंगलादेशदेखि विश्वभरका संगीतप्रेमीहरूलाई मोहित बनाएको छ।

उनै आशाको आज ९२ वर्षको उमेरमा निधन भएको छ। अचानक स्वास्थ्यमा समस्या आएपछि परिवारले उनलाई शनिबार मुम्बईस्थित एक अस्पतालमा भर्ना गरेको थियो। उपचारको क्रममा अस्पतालमै उनको निधन भएको परिवारले जनाएको छ। हृदयाघातका कारण उनको निधन भएको हो।

आशाको जन्म सन् १९३३ सेप्टेम्बर ८ मा भारतको महाराष्ट्रमा भएको थियो। सानै उमेरदेखि उनको लगाव संगीतप्रति थियो। सन् १९४० देखि नै उनी संगीतमा लागेकी थिइन्।

उनका पिता दीनानाथ मंगेशकर शास्त्रीय संगीतका गायक थिए। पितानै संगीतकर्मी भएपछि उनमा त्यसको प्रभाव पर्नु स्वाभाविक थियो। दुर्भाग्य उनी ९ वर्ष हुँदा  उनको पिताको निधन भयो। उनकी दिदी लता मंगेशकर पनि संगीतमा लागेकी थिइन्। उनी स्थापित गायिका थिइन्।

दिदीबहिनीनै मिलेर फिल्मी गीत गाउन थाले। केही समय सँगै काम गरे। तर दिदीको छत्रछायाँमा भन्दा पनि आशा आफ्नै पहिचान बनाउनतर्फ लागिन्। त्यसैले उनलाई संगीतमा आफूलाई स्थापित गर्न निकै संघर्ष गर्नुपरेको थियो।

दृढ आत्मविश्वास, मेहनत र फरक शैलीको गायनले अन्ततः उनी विश्वकै चर्चित गायिका बन्न सफल भइन्। आफ्नै भर्सटायल स्वरले उनलाई फरक पहिचान दिलायो।

आशाले १९४३ सालमा पहिलोपटक मराठी भाषाको गीत ‘माझा बाल’ गाइन्। यो उनको पहिलो गीत हो। हिन्दीमा गाएको पहिलो गीत फिल्म ‘चुनरिया’ को ‘सावन आया’ हो।

उनलाई चिनाउने गीत भने ‘संगदिल’ रहेको छ। त्यसयता उनले हजारौं संख्यामा गीत गाएकी छन्।  रोमान्टिक, नृत्य, भजन, गजल, पप, लोक र आधुनिक सबै शैलीको गीत गाएकी छन्।

उनको स्वरमा पाइने चञ्चलता र भावनात्मकताले जुनसुकै गीतलाई पनि जीवन्त बनाउन गरेकोे संगीतकर्मीहरू बताउँछन्। संगीतकर्मीहरूमाझ उनी प्रत्येक गीतअनुसार शैली परिवर्तन गर्न सक्ने क्षमता भएको गायिकाको रूपमा चिनिन्छिन्।

गायिका आशाको १६ वर्षको उमेरमै विवाह भएको थियो। उनले गणपतराव भोसलेसँग पहिलो विवाह गरेकी थिइन्। दिदी लताको अफिसमा काम गर्ने गणपतरावसँग उनी प्रेममा परिन् र सानै उमेरमा विवाह गरिन्। उनीहरूको तीन सन्तान भए। तर परिवारले आनाकानी गर्दा पनि आफ्नै जिद्दीले गरेको विवाहले परिवारमा ठूलो कलह पैदा भयो। अन्ततः उनीहरूले सम्बन्ध विच्छेद गरे।

केही समयको अन्तरालपछि आशाले संगीतकार आर.डी. बर्मनसँग दोस्रो विवाह गरिन्। दोस्रो विवाहमा पनि तिक्तता आइरहे। तर उनीहरू अलग भएनन्। सांगीतिक जोडीका रूपमा सहकार्य गरिरहे।

व्यक्तिगत जीवनमा जति नै कठिनाइ आए पनि उनले गीत गाउन छाडिनन्। भारतीय गीतमा मात्र नभएर नेपाली, मराठी, उर्दू, तेलगू, बंगाली, गुजराती, पञ्जावी, रसियन, बंगालीलगायत थुप्रै भाषामा हजारौं गीत गाएकी छन्।

नेपाली संगीतमा उनको उल्लेखनीय योगदान छ। उनले दर्जनौँ नेपाली गीतमा स्वर दिएकी छन्, जुन कालजयी छन्। ‘गैरी खेतको शिरै हान्यो’, ‘एउटा मान्छे मन पर्छ बोल्नै सक्दिनँ’, ‘आज हाम्रो भेट भाको दिन’, ‘बसन्त नै बस्न खोज्छ यहाँ’, ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘को होला मेरो मायालु’, ‘मोहनी लाग्ला है’ लगायत थुप्रै गीतमा उनले स्वर दिएकी छन।

उमेर ढल्किँदै जाँदा पनि उनले आफ्नो स्वरमा कुनै कमी आउन दिइनन्। ८० वर्षभन्दा बढी उमेरमा पनि उनी स्टेजमा सक्रिय थिइन्। जुन धेरैका लागि प्रेरणाको स्रोत बन्न पुगेको छ।

देशदेखि विदेशसम्म स्टेजमा दर्शकलाई मनोरञ्जन दिनुका साथै उनले आफ्नो करियरमा धेरै सम्मान प्राप्त गरेकी छन्। पद्म विभूषण (२००८), दादासाहेब फाल्के पुरस्कार (२०००), महाराष्ट्र भूषण, लाइफटाइम अचिभमेन्टजस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुस्कारबाट सम्मानित भइन्।

विशेषतः भारतीय फिल्म संगीतलाई विश्वभर चिनाउन उनको ठूलो योगदान छ। उनको निधनले भारतीय संगीत क्षेत्रमा एक युगकै अन्त्य भएको विश्लेषण गरिएको छ। यसर्थ आशा भोस्ले एक गायिका मात्र नभएर संगीतकी एक संस्था थिइन् भन्दा फरक नपर्ला। उनको गीत अहिलेका युवापुस्ताले पनि सुनेर आनन्द लिइरहेका हुन्छन्। नेपाल, भारतमा मात्र नभएर अन्य भाषामा पनि उनले दिएको योगदान अविस्मरणीय रहिरहने छ।

प्रकाशित: २९ चैत २०८२ १६:१७ | Sunday, April 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast