काठमाडौँ- नेपाल पर्यटन बोर्डले पश्चिम एसियामा चर्किएको संकटले नेपालको प्रमुख स्रोत बजार, हवाई सम्पर्क र पर्यटक आगमनमा पार्ने असर न्यूनीकरणका लागि वैकल्पिक रणनीतिबारे छलफल गरेको छ।
बोर्डले बिहीबार आयोजना गरेको ‘पश्चिम एसिया संकट र यसको नेपाली पर्यटनमा प्रभाव’ विषयक अन्तक्र्रियामा सरोकारवालाले संकटलाई चुनौतीमात्र नभई अवसरका रूपमा समेत लिनुपर्ने धारणा राखेका थिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले पश्चिम एसिया क्षेत्र नेपालको प्रमुख पर्यटन स्रोत बजारमध्ये एक भएको, युरोप र अमेरिकी पर्यटक आगमनको प्रस्थान बिन्दु भएकाले यस संकटले हवाई सम्पर्क र पर्यटक आगमनमा असर पुर्याउने बताए।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले वर्तमान पर्यटक आगमनको स्थिति तथा समग्र प्रभावबारे प्रस्तुति दिएका थिए।
बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले समयमै सूचना प्रवाह र वैकल्पिक हवाई मार्गको खोजी अत्यावश्यक रहेको बताए।
‘हामीले अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश दिनुपर्छ’, उनले भने, ‘इन्धन मूल्यवृद्धिका कारण भाडा बढेको छ, त्यसलाई सम्बोधन गर्न हवाई भाडामा सरकारले सहुलियत दिन आवश्यक छ।’
त्यसैगरी, परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले विश्व अहिले जटिल अन्तरनिर्भर अवस्थामा रहेको भन्दै यो अस्थिरताले टनेपालको पर्यटनमा पर्न सक्ने क्षति न्यूनीकरणका लागि सरकारले तयारी गरिरहेको बताए।
नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्ट र नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले वैकल्पिक रुटमा जोड दिँदै काठमाडौँ–हङकङको हवाई मार्गमार्फत उडान सञ्चालनका लागि पहल गर्नुपर्ने सुझाव दिएका थिए।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले पश्चिम एसिया हुँदै हुने यात्रामा अनिश्चितता बढेको भन्दै वैकल्पिक मार्ग र इन्धन सहुलियत आवश्यक रहेको बताए।




