काठमाडौँ- गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जित निकालेको छ। गएराति भएको खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई नाटकीय ढंगमा १ रनले हराएको हो। दिल्लीले अन्तिम बलमा दुई रन चाहिंदा त्यसलाई पूरा गर्न सकेन। कुलदीप यादव रनआउट भए। डेविड मिलर २० बलमा ४१ रन बनाएर नटआउट रहे।
जितका लागि २ सय ११ रनको लक्ष्य पछ्याएको दिल्लीले ८ विकेट गुमाएर २ सय ९ रनमात्र बनाउन सक्यो। त्यसमा ओपनर पथुम निसन्काले पहिलो विकेटका केएल राहुलसँग मिलेर ७६ रनको साझेदारी गरेका थिए। निसन्काले २४ बलमा ४१ रन बनाए। राहुलले भने सर्वाधिक ९२ रनको योगदान गरे। उनले ५२ बलमा ११ चौका र ४ छक्का प्रहार गरे। तर यी सबै निर्णायक हुन सकेनन्।
त्यसअघि पहिला ब्याटिङको निम्तो पाएको गुजरातले चार विकेटमा २ सय १० रन बनाएको थियो। त्यसमा सबैभन्दा ठूलो योगदान कप्तान शुभमन गिलको रह्यो। उनले ४५ बलमा ७० रन बनाए। जस बटलरले २७ बलमा ५२ रन जोडेका थिए। गिलले बटलरसँग मिलेर दोस्रो विकेटका लागि ६० रनको साझेदारी गरे। त्यसपछि अर्धशतक बनाउने पालो वासिङ्टन सुन्दरको रह्यो। उनले ३२ बलमा ६ चौका र २ छक्कासहित ५५ रन बनाए।
दिल्लीका बलरमध्ये मुकेश कुमारले ५५ रनमा २ विकेट लिए। दिल्लीको यो प्रतियोगितामा पहिलो हार हो। गुजरातले यसअघि दुई खेल गुमाएको थियो।




