काठमाडौँ- गृहमन्त्री सुधन गुरुङसँग नेपालका लागि स्वीस राजदूत डेनिएल मैवलीले आज शिष्टाचार भेट गरेकी छन्। गृह मन्त्रालयमा भएको सो भेटमा राजदूत मैवलीले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिइन्।
नेपाली उच्चपदस्थ व्यक्तिहरूले भ्रष्टाचारलगायत कसुरबाट अवैधरूपमा आर्जन गरेको रकम स्वीस बैंकमा जम्मा गरेनगरेको विषयमा अनुसन्धानका लागि दुई देशबीच सहकार्य गर्न तथा रकम जम्मा गरेको देखिएमा नेपाल सरकारको अनुरोधमा उक्त रकम फिर्ता ल्याउने व्यवस्था गर्न आवश्यक पहल गरिदिन गृहमन्त्री गुरुङले राजदूतसमक्ष आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
विपद् व्यवस्थापनका क्षेत्रमा गृहमन्त्री गुरुङको एक दशकभन्दा लामो अनुभव र उल्लेखनीय योगदान रहेकोप्रति सम्मान प्रकट गर्दै राजदूतले नेपालमा जलवायु परिवर्तन एवं विपद् जोखिम न्यूनीकरणका लागि पूर्वचेतावनी प्रणालीलाई थप सुदृढ बनाउन स्वीस सरकारले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।




