अटोचालक महिला

जीवन धान्न स्टेरिङ, बाटोभरि विभेद

रमा केसी २४ चैत २०८२ १२:५५ | Tuesday, April 7, 2026
76
SHARES
जीवन धान्न स्टेरिङ, बाटोभरि विभेद ट्राफिक प्रहरीबाट सम्मानित सुर्खेतका अटो चालक महिला।

सुर्खेत- वीरेन्द्रनगर-५ की सुस्मिता विकको दैनिकी अटो चलाउँदै बित्छ। अटो चलाएर उनी आत्मनिर्भर बनेकी छन्। तर समाजले आफूहरूलाई हेर्ने दृष्टिकोणमा अझै विभेद रहेको उनी बताउँछिन्।

‘महिलाले घरभित्र मात्र होइन, बाहिर पनि काम गर्न सक्छन् भनेर अटो चलाउन थालेँ’, उनी भन्छिन्, ‘तर बाहिर काम गर्नु त्यति सजिलो छैन।’ तीन वर्षदेखि अटो चलाउँदै आएकी सुस्मिताका अनुसार यात्रुबाट अनावश्यक प्रस्ताव, फोन नम्बर माग्ने, नराम्रो नजरले हेर्ने र शारीरिक रूपमा छुने प्रयासजस्ता व्यवहार झेल्नुपरेको छ। ‘यस्ता घटनाले कहिलेकाहीँ घरपरिवारमै असर पर्ला कि भन्ने डर लाग्छ’, उनले भनिन्।

बिहान घरको काम सकेर दिउँसो अटो चलाउन निस्किँदा आफूलाई हेर्ने नजरमा परिवर्तन नभएको उनी बताउँछिन्। यद्यपि अटो चलाउन थालेपछि घरखर्च र छोराछोरीको पढाइमा आर्थिक सहयोग गर्न सकेकोमा उनी सन्तुष्ट छिन्।

वीरेन्द्रनगर-३ की शान्ति बुढाले पनि घरको आम्दानीले नपुग्ने भएपछि अटो चलाउन थालेको बताइन्। उनका अनुसार व्यस्त सडक, ट्राफिक नियमको अव्यवस्था र जोखिमपूर्ण अवस्था दैनिक चुनौती बनेका छन्।

‘आफ्नो मात्र होइन, यात्रु, पैदलयात्री र सडकका जनावरसम्मको ख्याल गर्नुपर्छ’, उनी भन्छिन्, ‘तनमन दुवै यसमै लगाउनुपर्छ।’ उनका अनुसार अधिकांश यात्रुबाट हौसला मिल्ने गरे पनि केहीले दुर्व्यवहार गर्ने गरेका छन्। ‘यस्तो हुँदा प्रतिवाद गर्नुपर्छ भन्ने लाग्छ, तर कहिलेकाहीँ डर पनि लाग्छ,’ उनले भनिन्।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आयोजना गरेको महिला अटो चालकहरूसँग ट्राफिक प्रहरी कार्यक्रममा सुस्मिता र शान्तिसहितका सुर्खेत महिला अटो चालकहरुले आफ्नो मनको वह पोखेका हुन्। अन्तरक्रियामा ३० भन्दा बढी महिला अटोचालक सहभागी थिए। कार्यक्रममा उनीहरूले आफूहरूले भोग्दै आएका हिंसा, विभेद, पार्किङ अभाव र रुट परमिटसम्बन्धी समस्या उठाएका थिए। प्रहरीले ती समस्याका समाधानका लागि नगरपालिकासँग समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन आवश्यक रहेको बताए। ‘पेसा जे भए पनि व्यवहार समान हुनुपर्छ’, उनले भने, ‘तपाईँहरूको समस्या सुन्नकै लागि यो कार्यक्रम आयोजना गरिएको हो।’

उनले कुनै पनि प्रकारको हिंसा भए प्रतिवाद गर्न र प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै ट्राफिक प्रहरीप्रति रहेको डरको मानसिकता बदल्नुपर्ने बताए।

प्रकाशित: २४ चैत २०८२ १२:५५ | Tuesday, April 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast