काठमाडौँ- नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पदभार ग्रहण गरेका छन्।
आइतबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि महान्यायाधिवक्ता कार्यालय पुगेर कँडेलले पदभार ग्रहण गरेका हुन्।
पदभार पछि नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले प्रबुद्ध वर्गसँग मिलेर काम गर्दा नेपालको फौजदारी न्याय प्रणालीको विकासमा योगदान गर्न सकिने आफ्नो विश्वास रहेको बताए। सरकारलाई संविधान र कानुनले निर्दिष्ट गरेको सीमाभित्र र रहेर उपयुक्त राय सल्लाह दिने काम हुने उनको भनाइ छ।
त्यस्तै उनले अहिले नेपाल सरकारको ध्यान सुशासनमा रहेकाले आर्थिक अपराधसँग सम्बन्धित मुद्दाहरू, सार्वजनिक सम्पत्तिको दुरुपयोगसँग सम्बन्धित मुद्दाहरूलाई प्रभावकारीरूपमा अगाडि बढाउन ध्यान केन्द्रित गर्ने उल्लेख गरे।
यसअघि आइतबार नै प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कँडेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए।




