भदौ २४ गते भएको आगजनीबाट क्षति पुगेको सिंहदरबार।
तस्बिर : रासस
काठमाडौँ- सरकारले भदौ २४ मा भएको घटनाका सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने भएको छ। मन्त्रिपरिषद्को शुक्रबारको निर्णयबमोजिम १०० दिने कार्यसूची जारी गर्दै सरकारले समिति गठन गर्ने निर्णय गरेको हो।
छानबिन समिति एक हप्ताभित्र गठन गरिने कार्यसूचीमा उल्लेख छ। उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण संकलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिने तथा समितिको सिफारिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाउने निर्णय सरकारो छ।
भदौ २३ गते सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणको माग राखेर सडकमा उत्रिएका जेनजी युवामाथि प्रशासन बर्बर रूपमा प्रस्तुत हुँदा १९ जना युवाको ज्यान गएको थियो।
सोही घटनाको विरोधमा आक्रोशित समूहले २४ गते संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबारसहितका क्षेत्रमा आगजनी गरेको थियो। यसैगरी व्यावसायिक प्रतिष्ठान, निजी आवास, नेताहरूको निवास, सरकारी भवनमा आगजनी गर्दा अर्बौँको सम्पत्ति नष्ट भएको थियो।




