काठमाडौँ- नेपालमा आफ्नो दुई वर्षीय सेवा सुरु गर्नुअघि ५१ जना पिसकोर स्वयंसेवकले कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बम र पिसकोर नेपालका देशीय निर्देशक ट्रोइ कफ्रथबाट शपथ लिएका छन्।
यी नयाँ स्वयंसेवक नेपाल आएका पिसकोर स्वयंसेवकहरूको २११औँ समूहका हुन्, जो नेपाली र अमेरिकी सरकारले नेपालमा पिसकोर कार्यक्रमको स्थापना गर्न सन् १९६२ मा सम्झौतामा हस्ताक्षर गरेयता नेपालमा सेवा गरिसकेका ४ हजार भन्दा बढी पिसकोर स्वयंसेवकहरूको सङ्ख्यामा जोडिनेछन्।
‘सन् १९६१ मा पिसकोर कार्यक्रमको स्थापना हुँदा अमेरिकी राष्ट्रपति केनेडीले भन्नुभएको थियो ‘शान्तिप्रतिको जिम्मेवारी हाम्रो समग्र समाजको जिम्मेवारी हो’ यो त्यति बेला साँचो थियो र अहिले पनि साँचो छ। शान्तिको प्रवर्द्धन गर्ने र सबै अमेरिकीमा शान्तिको खोजीप्रति अझ बढी अभिरुचि जगाउने प्रयत्नमा, आफूले अपनाएका आतिथ्य समुदायहरूसँग दिगो सम्बन्ध निर्माण गर्ने आफ्नो ध्येयप्रति स्वयंसेवकहरू उत्साही हुन्छन्,’ कार्यवाहक राजदूत अर्बमले भने।
सन् २०२६ को जनवरी महिनामा नेपाल आइपुगेका यी ५१ पिसकोर स्वयंसेवकले सेवाको तयारीस्वरूप काभ्रे जिल्लामा ९ हप्ता लामो सघन भाषिक, अन्तरसांस्कृतिक र प्राविधिक प्रशिक्षण पूरा गरेका छन्।
यी स्वयंसेवक गण्डकी, बागमती र लुम्बिनी प्रदेशका १० जिल्लामा तोकिएका छन्, जहाँ यिनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय; वन तथा वातावरण मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँगको समन्वयमा सरकारी विद्यालयहरूमा अंग्रेजी पढाउनुका साथै खाद्य सुरक्षा तथा पोषणसम्बन्धी परियोजनाहरूमा कृषकसँगै काम गर्ने र वातावरण तथा वनसम्बन्धी सामुदायिक पहलहरूमा मद्दत गर्नेछन्। यो नयाँ समूह थपिएसँगै, ९९ जना पिसकोर स्वयंसेवक नेपालका ११ ओटा जिल्लामा सेवारत हुने बताइएको छ।




