प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

हिमाल प्रेस ५ चैत २०८२ १९:५५ | Thursday, March 19, 2026
14
SHARES
प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौँ– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र प्रतिवेदनसहितको निर्वाचन परिणाम राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइसकेपछि बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन खर्चलाई मितव्ययी बनाउन आयोगबाट यसअघि खरिद भएका सामग्री प्रयोगको नीति लिइएको जानकारी दिए।

निर्वाचन सामग्री खरिदमा सरकारको स्वमित्वमा रहेका संगठित संस्थासँग सम्झौता गरी खरिद गरिएको पनि उनले बताए।

पचास प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका निर्वाचन सामग्री प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाटै खरिद गरिएको थियो। १३ प्रकारका सामग्री आयोगबाट खरिद भई जिल्लागत रूपमा ढुवानी गरिएको थियो। निर्वाचन प्रयोजनका लागि आयोगबाट सात अर्ब ८१ करोड पाँच लाख ७६ हजार माग गरिएकोमध्ये अर्थ मन्त्रालयबाट छ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सहमति प्राप्त भएको थियो।

प्राप्त रकममध्ये हालसम्म तीन अर्ब ५४ करोड २८ लाख ७९६ खर्च भएको छ। खर्चको दायित्व सिर्जना भएकोमध्ये केही रकम भुक्तानी गर्न बाँकी रहेको जानकारी आयोगले गराएको छ।

निर्वाचनमा स्वदेशी र विदेशी पर्यवेक्षकले पर्यवेक्षण गर्ने व्यवस्था मिलाइएकामा अन्तर्राष्ट्रिय पर्यवेक्षणतर्फ २२ वटा कूटनीतिक निकायका १६४ जना प्रतिनिधि र तीन वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूले पर्यवेक्षण गरेका थिए। राष्ट्रियतर्फ ३५ वटा गैरसरकारी संस्थाले पर्यवेक्षण गरेका थिए।

विशिष्ट परिस्थितिमा घोषणा भएको प्रतिनिधिमूलक लोकतन्त्रको यस अभ्यासमा सहभागी भई आफ्नो मताधिकारमार्फत प्रतिनिधि चुन्ने, कानुन निर्माण र राज्य सञ्चालन प्रक्रियामा संलग्न हुने एवं सरकार निर्माण तथा शासन सञ्चालनमा सहभागी हुने प्रक्रियालाई पूर्णता दिएकामा सम्पूर्ण मतदाताहरुमा आयोग धन्यवादसहित आभार प्रकट गरेको छ।

निर्वाचन सम्पन्न गराउने कार्यमा संलग्न भई आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृत, सबै सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तरराष्ट्रिय समुदाय, सञ्चारमाध्यम एवं सञ्चारकर्मी सबैप्रति पनि आयोगले धन्यवाद प्रकट गरेको छ।

प्रकाशित: ५ चैत २०८२ १९:५५ | Thursday, March 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast