गगनको राजीनामा स्वीकृत होला?

हिमाल प्रेस ५ चैत २०८२ १३:१० | Thursday, March 19, 2026
34
SHARES
गगनको राजीनामा स्वीकृत होला?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएपछि पार्टीभित्र त्यसको प्रक्रिया र भविष्यबारे चासो तीव्र बनेको छ।  प्रतिनिधिसभा निर्वाचनमा  कमजोर नतिजा आउनेबित्तिकै उपसभापति विश्वप्रकाश शर्मासँग राजीनामाका विषय छलफल थालेका थापाले बुधबार राजीनामा दिएका हुन्। थापाले दुई महिनाअघि मात्रै पार्टी नेतृत्व सम्हालेका थिए।

माघ २ मा काठमाडौँमा विशेष महाधिवेशन गर्दै थापा सभापति चयन भएका थिए। तत्कालीन सभापति शेरबहादुर देउवा र अर्का नेता शेखर कोइरालाको असन्तुष्टिका बीच थापा विशेष महाधिवेशनबाट नेतृत्वमा चुनिए। उनलाई विशेष महाधिवेशनमा महाधिवेशन प्रतिनिधिले उल्लेखीय साथ दिए। थापाका पक्षमा ५४ प्रतिशतभन्दा बढी प्रतिनिधि उभिएका थिए। विशेष महाधिवेशनबाटै थापाले कांग्रेसलाई पहिलो शक्ति बनाउने उद्घोष गरेका थिए।

कांग्रेस स्रोतका अनुसार पनि निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी १०० सिट हाराहारी ल्याएर पहिलो शक्ति बन्ने आकलन थियो। चुनावअघि नै कांग्रेसले थापालाई ‘भाबी प्रधानमन्त्री’ को निर्णय गरेको थियो। तर निर्वाचनमा अपेक्षाकृत मत आएन। थापा आफैँले सर्लाही ४ बाट चुनाव हारे। यही कारण लामो परामर्श गरी थापाले राजीनामा दिएका हुन्।

कतिपयले थापाको राजीनामा ‘मिडिया ट्रायल’ अथवा ‘नैतिकता देखिने मेलो’ मात्र भनेका छन्। कांग्रेस निकट स्रोतका अनुसार पनि उनको राजीनामा स्वीकृत हुने सम्भावना छैन। ‘हामी सबै विपक्षमा छौँ। स्वीकृत कसरी होला र?’ कांग्रेसका एक पदाधिकारीले हिमाल प्रेससँग भने।

कसरी अघि बढ्छ प्रक्रिया?

थापाले दिएको राजीनामा पार्टी कार्यालयमा पुगेर बैठकको कार्यसूचीमा समावेश हुन्छ। ‘शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ। त्यहीँ छलफल हुन सक्ला’, पार्टी प्रवक्ता देवेन्द्रराज चालिसेले हिमालप्रेससँग भने, ‘यो औपचारिक विषय बन्छ।’

कांग्रेस स्रोतका अनुसार चुनावी समीक्षाका लागि थापाले केन्द्रीय समिति बैठक आह्वान गरेका छन्। बैठकको अध्यक्ष उपसभापति विश्वप्रकाश शर्माले गर्नेछन्। ‘उहाँ (गगन थापा) ले अध्यक्षता गर्नुहुन्न। वरिष्ठताका आधारमा उपसभापतिले अध्यक्षता गर्नुहुनेछ’, कांग्रेस स्रोतले भन्यो। शर्माले अध्यक्षता गरेको बैठकमा स्वीकृत गर्ने/नगर्ने अधिकार केन्द्रीय कार्य समितिलाई हुन्छ।

‘कार्यकारिणी अधिकार पाएको केन्द्रीय कार्य समितिनै आधिकारिक हो’, अर्का एक नेता भन्छन्। सोही बैठकमा महामन्त्रीले बैठकका प्रस्ताव पेस गर्नेछन्। त्यही बैठकमा एक महामन्त्रीले सभापति थापाको राजीनामा अस्वीकृतको कार्यसूची पनि पेस गर्ने तयारी छ।

‘उपसभापति शर्माले चुनावमा पराजित हुनुमा एकल व्यक्ति नभएको र विशेष महाधिवेशनबाट चुनिएर आएको नेतृत्व छोटो समयको तयारीमा चुनावमा होमिनुपरेको लगायतका कारण बैठकलाई जानकारी गराउँदै राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि बैठकमा पेस गर्नुहुन्छ,’ कांग्रेसका एक पदाधिकारीले भने। ती पदाधिकारीका अनुसार  बैठकबाट अस्वीकृत भएपछि फेरि थापा सभापति रहनेछन्।

प्रकाशित: ५ चैत २०८२ १३:१० | Thursday, March 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast