नेकपाको एक सिट बढ्यो

हिमाल प्रेस २ चैत २०८२ ७:१० | Monday, March 16, 2026
26
SHARES
नेकपाको एक सिट बढ्यो

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा सदस्यतर्फ १ सिट बढाएको छ। धनुषा १ को उम्मेदवारी विवादका कारण यसअघि तानातान भएको एक सिट नेकपाको पोल्टामा परेको छ।

सर्वोच्च अदालतले धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई अन्तरिम आदेशमार्फत सच्याउन अस्वीकार गरेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मातृका यादव विजयी भएका छन् ।

न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले साहको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । साहले आफ्नो उम्मेदवारी कायम राख्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।

निर्वाचन आयोगले बैंक तथा वित्तीय संस्थासम्बन्धी दायित्व पूरा नगरेको भन्दै कर्जा सूचना केन्द्रले साहको नाम कालोसूचीमा राखेकाले फागुन १८ गते उनको उम्मेदवारी खारेज गरेको थियो । साहको स्वामित्वमा रहेको निर्माण कम्पनी कालोसूचीमा परेको थियो ।

साहले निर्वाचन आयोगको उक्त निर्णयविरूद्ध फागुन १९ गते सर्वोच्चमा पहिलो रिट निवेदन दिएका थिए । त्यसको पहिलो सुनुवाइ फागुन २५ गते भएको थियो तर फागुन २९ गतेलाई तोकिएको सुनुवाइ हुन सकेको थिएन ।

उनले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै फागुन २७ गते अर्को रिट दायर गरेका थिए । न्यायाधीश शारंगा सुवेदीको इजलासले उक्त रिटमा सुनुवाइ गर्दै केन्द्रबाट प्राप्त पत्रले साह कालोसूचीमा नदेखिएकाले अन्तरिम आदेश जारी गरेको थियो ।

तर आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्ने निर्णय गरेसँगै साहको उम्मेदवारी खारेज नै रहने र यसअघि निर्वाचन आयोगले घोषणा गरेअनुरूप धनुषा–१ बाट नेकपाका मातृका यादवको जित सुनिश्चित भएको हो । यसअघि नेकपाको २४ सिट थियो। धनुषा १मा थपिँदा २५ पुगेको छ।

प्रकाशित: २ चैत २०८२ ७:१० | Monday, March 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast