प्रधानमन्त्री कार्कीका नियुक्तिका निर्णयबाट असन्तुष्ट बने जेनजी अभियन्ता

हिमाल प्रेस २ चैत २०८२ ६:५१ | Monday, March 16, 2026
14
SHARES
प्रधानमन्त्री कार्कीका नियुक्तिका निर्णयबाट असन्तुष्ट बने जेनजी अभियन्ता जेनजी अभियन्ता रक्षा बम, तनुजा पाण्डे र जस्मिन ओझा (बायाँबाट)।

काठमाडौँ- प्रधानमन्त्री पदबाट बाहिरिने समयमा सुशीला कार्की विवादमा तानिएकी छन्। आइतबारको मन्त्रिपरिषद्बाट आफ्ना स्वकीय सचिव र हालका गृहमन्त्रीलाई सरकारी नियुक्ति दिलाएकोमा उनी विवादित बनेकी हुन्। उनले स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनित र गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभामा मनोनीत गरिन्। यो निर्णयले उनी आलोचित छन्। जेनजी अभिन्यता पनि उनको यो निर्णयले रुष्ट देखिएका छन्।

जेनजी फ्रन्टकी संयोजक रक्षा बमले कडा विरोध जनाएकी छन् । विशेषगरी प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनित गर्ने निर्णयप्रति उनले असन्तुष्टि व्यक्त गरेकी हुन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै संयोजक बमले उक्त निर्णयले सुशासनको माग गर्दै सडकमा गरिएको आन्दोलनको भावनाविपरीत गएको टिप्पणी गरेकी छन् । उनले सरकारका उच्च पदाधिकारीहरूले आफ्ना निकट व्यक्तिहरूलाई पद बाँड्ने प्रवृत्तिले जनतामा निराशा बढाउने बताइन् ।

बमले लेखेकी छन्, ‘सडकमा सुशासनका लागि, नातावाद र कृपावादको विरुद्ध नारा लगाउँदै मेरा जेनजी साथीहरूले छाती र टाउकोमा गोली खाए । मसँगै हजारौँ साथीहरूले आफ्नो ज्यानको प्रवाह नगरी छातीमा गोली थाप्न सडकमा उत्रिए । केका लागि थाहा छ? यो देशले बिस्तारै भए पनि सुशासनको सास फेर्न पाओस् भन्ने सपनाका लागि ।’

उनले प्रधानमन्त्री र मन्त्रीहरूले आफ्ना नजिकका व्यक्तिलाई परिषद्, विभाग वा समितिका पदहरू ‘बिदाइ उपहार’ जस्तै गरी बाँडफाँड गर्न नहुने पनि उल्लेख गरेकी छन् ।

बमले आफ्नो वक्तव्यमा चेतावनीपूर्ण शैलीमा भनिन्, ‘होस गर्नुहोस् है, त्यो कुर्सीमा रातो लागेको छ । सडकले रगत भुलेको छैन, र रगतले रंगिएको कुर्सीले तपाईंलाई कुनै उचाइ दिने छैन ।’ अर्की जेनजी अभियन्ता तनुजा पाण्डेले सामाजिक सञ्जालमार्फत सरकारको निर्णयप्रति आपत्ति जनाउँदै सरकारलाई प्रश्न गरेकी छन् । उनले लेखेकी छिन्, ‘जनतालाई उल्लु बनाएर पुगेन हजुर रु शहीदको रगतको मजाक नगर्नुस् ।’

पाण्डेले आदर्श श्रेष्ठ यसअघि पनि विवादमा मुछिएका पात्र भएको उल्लेख गर्दै आफ्नी पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाउने प्रयास गरेको घटना अझै ताजा रहेको बताएकी छन् ।

उनले सरकारको पछिल्लो निर्णयलाई ‘घिनलाग्दो राजनीति’को संज्ञा दिँदै यस्तो कदमले सुशासनको प्रतिवद्धतामाथि प्रश्न उठ्ने टिप्पणी गरेकी छन् ।

पाण्डेले आफ्नो स्टाटसमा लेखेकी छिन्, ‘आसेपासेवादबाट माथि उठ्ने कुरा गर्नेहरूकै वरिपरि यस्ता घटनाहरू बारम्बार दोहोरिनु आफैंमा व्यंग्य जस्तै लाग्छ। ‘आदर्श’ प्रकरणले फेरि एकपटक देखायो, यहाँ समस्या पात्रहरूको मात्र होइन, संस्कृतिको हो ।’

उनले सत्तामा बस्नेहरूलाई इतिहासबाट पाठ सिक्न पनि चेतावनी दिएकी छन् । ‘अलिकति लाज पनि मान्नुहोस्, अलिकति डर पनि मान्नुहोस् । देश र शहीदमाथि मजाक गरिन्छ भने मजाक गर्नेहरूको अवस्था कस्तो हुन्छ भन्ने कुरा हरेक दशकमा नेपालमा देख्न सकिन्छ,’ उनले लेखेकी छन् । यस्तै जेनजी अभियन्ता एवं जनादेश पार्टीकी नेत्रृ जस्मिन ओझाले जनतालाई भ्रममा राखेर राजनीति गर्ने प्रवृत्ति नेपालका लागि नयाँ नभएको भन्दै असन्तुष्टि जनाएकी छन्। उनले हरेक राजनीतिक परिवर्तनपछि ‘नयाँ संस्कार’ को कुरा उठ्ने तर व्यवहारमा पुरानै प्रवृत्ति दोहोरिँदा जनतामा निराशा पैदा भएको जनाएकी छन्।

‘प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठले आफ्नै पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाउन खोजेको घटना धेरै पुरानो भएको छैन। आज त्यही व्यक्ति फेरि प्रभावशाली पदमा रहेर प्रकृति संरक्षण कोष जस्तो संस्थामा सिफारिससम्म पुग्नुले एउटा प्रश्न उठाउँछ के हामीले साँच्चै राजनीतिक संस्कार बदलेका छौं, कि केवल पात्रहरू मात्रै फेरिएका हुन्?’ उनले प्रश्न गरेकी छन्।

‘यस्तै सन्दर्भमा ओम प्रकाश अर्याललाई राष्ट्रिय सभामा पठाइने निर्णयले पनि बहस जन्माएको छ। जब युवा आन्दोलन, पारदर्शिता र नयाँ राजनीतिक अभ्यासको चर्चा भइरहेको बेला यस्ता राजनीतिक व्यवस्थापन देखिन्छन्, तब जनताले स्वाभाविक रूपमा जवाफ खोज्छन्। नेपालको इतिहासले देखाएको छ जब सत्ताले जनताको भावना र बलिदानलाई बेवास्ता गर्छ, त्यसको प्रतिकार सडकबाटै हुन्छ।’ यस विषयमा अन्य जेनजी अभियन्ता समेत असन्तुष्ट छन्।

प्रकाशित: २ चैत २०८२ ६:५१ | Monday, March 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast