काठमाडौँ- गोरखाको सहिद लखन गाउँपालिकामा विद्युतीय माइक्रोबस (ईभी) दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।
मनकामना दर्शन गरेर फर्किँदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको ईभी गाउँपालिकाको वडा नम्बर ३ को कन्टारमा दुर्घटना भएको हो।
वडाध्यक्ष दीपक पाण्डेका अनुसार ईभी सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेको घसेर दुर्घटना भएको हो। ईभीको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने उनको अनुमान छ।
उनका अनुसार ईभीमा चालक र सहचालकबाहेक १३ जना भारतीय पर्यटक सवार थिए। ‘ब्रेक फेल भएर दुर्घटना भएको हाम्रो अुनमान छ। चालक र सहचालक नेपाली थिए, बाँकी सबै जना भारतीय पर्यटक ईभीमा सबार थिए,’ पाण्डेले भने।
वडाध्यक्ष पाण्डेले सात जनाको घटनास्थलमा मृत्यु भएको जानकारी दिए। ‘मनकामना दर्शन गरेर फर्किरहेको ईभी दुर्घटना भएको हो,’ हिमालप्रेससँग उनले भने,‘सात जनाको घटनास्थलमै मृत्यु भएको छ। आठ जनालाई उद्धार गरेर हामीले अस्पताल पठाएका छौँ।’
घाइतेहरूलाई उपचारका लागि आबुखरैनीस्थित अस्पतालमा भर्ना गरिएकोमा एक जनालाई भरतपुर रेफर गरिएको वडाध्यक्ष पाण्डेले बताए। दुर्घटनाका मृतक र घाइतेहरूको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।





