पोखरा– नेकपा (एमाले) केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको निधन भएको छ। पोखराका पूर्वमेयरसमेत रहेका थापाको बिहीबार दिउँसो हृदयघातका कारण ६६ वर्षको उमेरमा निधन भएको हो।
प्रतिनिधिसभा सदस्य चुनावको समीक्षाका लागि बिहीबार दिउँसो एमाले कास्की जिल्ला पार्टी कार्यालयमा कास्की क्षेत्र नम्बर १ को निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठक आह्वान गरिएको थियो। उक्त बैठकमा करिब १० मिनेटसम्म सम्बोधन गरेका थापा कुर्सीमा बसिरहेको बखत अचानक अचेत भएका थिए।
तत्काल उपचारार्थ पोखरा–११, फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल लगिएकामा चिकित्सकले दिउँसो ३ बजेर ३७ मिनेटमा मृत घोषणा गरेका हुन्। उनको पार्थीव शरीर मणिपाल अस्पतालमै राखिएको छ।
थापा गण्डकी प्रदेशसभाका पूर्वसदस्यसमेत हुन्। सानै उमेरदेखि राजनीतिमा सक्रिय उनी विभिन्न तह र तप्कामा बसेर सेवा गरे। जीवनको अन्तिम घडीसम्म पनि पार्टीकै कार्यक्रममा सहभागी हुँदै गर्दा प्राणपखेरु त्याग्न पुगे। यो घटनाले सबैलाई स्तब्ध बनाएको छ।
२०५४ सालको स्थानीय तह निर्वाचनमा उनी तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए। उनी ५ वर्षसम्म अर्थात् २०५९ सम्म मेयर भई पोखराको विकास निर्माणमा सक्रिय रहे।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी कास्की क्षेत्र नम्बर २ बाट चुनाव लडे। उक्त निर्वाचनमा पराजय व्यहोरे पनि ०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा टिकट पाए। कास्की २ (१) बाट चुनाव जितेर प्रदेश सांसद बनेका उनी राजीनामा दिएर २०७९ सालमा पोखरा महानगरपालिकाको मेयर लडेका थिए। तर माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीबाट गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले उनलाई पराजित गरे।
जेनजी आन्दोलनपछि एमालेको महाधिवेशनमा थापा केन्द्रीय सदस्य चुनिए। साथै, पार्टीले उनलाई कास्की जिल्लाको इन्चार्जसमेत जिम्मेवारी दियो। विगतमा पनि उनी जिल्ला इन्चार्ज सम्हालिसकेका थिए।
हालैको प्रतिनिधिसभा सदस्य चुनावमा कास्की–२ मा उनलाई एमाले केन्द्रीय सचिवालयले प्रत्यक्षतर्फ टिकट दिएको भए पनि पछि रश्मि आचार्यलाई दिइएको थियो। आफ्नो टिकट खोसिएकोमा भने थापा असन्तुष्ट थिए। तैपनि चुनाव प्रचारप्रसारमा आचार्यसँगै हिँडेका थिए।
निर्वाचनमा एमालेले नराम्रो पराजय भोगेपछि थापाले आफू पार्टी हितको लागि जिल्लाको इन्चार्ज एवं पार्टीको केन्दैीय सदस्य पदसमेत त्याग्न तयार रहेको कुरा सार्वजनिक गरेका थिए।
बिहीबारको चुनावी समीक्षा बैठकमा जिल्ला इन्चार्ज एवं पार्टीको केन्द्रीय सदस्य हैसियतले सबैको जिज्ञासाको जवाफ दिँदै चुनावमा हारको जिम्मेवारी लिन तयार रहेको दोहो¥याएका थिए। उनले सहभागीको प्रश्नलाई शान्त पारेपछि बैठक समापन भएको थियो।
नेता–कार्यकर्ताबीच अनौपचारिक भेटघाट हुँदै गर्दा कुर्सीमा बसिरहेका थापालाई हृदयघात भएको प्रत्यक्षदर्शी नवराज बरालले बताए।
थापाको निधनले पार्टीपंक्ति, शुभचिन्तक, आफन्तजनलगायतले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै दुःख व्यक्त गरिरहेका छन्।
२०१६ चैत १६ गते पोखरा–१६, बाटुलेचौरमा उनको जन्म भएको हो। बाबु खिमबहादुर र आमा शुकमाया थापाको ज्येष्ठ सन्तानको रुपमा जन्मिएका थापा हक्की र निडर स्वभावका थिए। उनका श्रीमती डिकी छिरिङ्ग थापा, एक छोरा प्रतीक थापा, भाइ मोहन थापा र बहिनी देवी तिमिल्सेना थापा छन्।
सानै उमेरदेखि अनेरास्ववियुको नेतृत्वदायी भूमिकामा रही उनी कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आए। २०४१ भदौ १६ गते तत्कालीन नेकपा (माले) को सदस्यता प्राप्त गरी निरन्तर पार्टी आन्दोलन हाँकेका थिए।
नेकपा एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षत्रीले थापाको निधनले पार्टीमा अपूरणीय क्षति पुगेको भनी दुःख व्यक्त गरेका छन्।
वरिष्ठ पत्रकार बद्रीविनोद खनालले थापाको निधनसँगै ‘सामाजिक अभियन्ता, राजनीतिक चेतनाका संवाहक, कवि तथा गीतकारलाई गुमाउन पुगेको’ भनी दुःख व्यक्त गरेका छन्।
उनी लेख्छन्, ‘सामाजिक अभियन्ता, राजनीतिक चेतनाका संवाहक, कवि तथा गीतकार प्रियमित्र कृष्ण थापाको निधनको खबरले स्तब्ध बनायो। पृथ्वीनारायण क्याम्पस र त्यसको वरपर जिल्लाहरूमा गीतबाट निरंकुश पञ्चायती शासनविरूद्ध आवाज उठाउँदा पटक–पटक प्रहरीको लाठी र गिरफ्तारी भोगेर सुन झैँ खारिएको योद्धा कास्कीले मात्र होइन, सिंगो नेपालले गुमाएको यस घडीमा हार्दिक श्रद्धाञ्जली भन्नुबाहेक अब केही रहेन।’
थापा क्षेत्रीय समाज नेपालका सल्लाहकार समेत थिए। समाजका तर्फबाट अध्यक्ष रिवबहादुर थापा र महासचिव कृष्णबहादुर थापाले शोक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका छन्।
‘क्षेत्री समाज नेपालका सल्लाहकार, पोखराको विकासमा महत्वपूर्ण योगदान दिनुभएका पोखरा महानगरपालिका पूर्वमेयर तथा नेकपा (एमाले) केन्द्रीय सदस्य, गण्डकी प्रदेश सभाका पूर्व सदस्य थापाको असामयिक निधनले समाज र राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पोखराको विकास र नेपाली राजनीतिमा महत्वपूर्ण योगदान पु¥याउनुभएका शालीन व्यक्तित्व थापाको असामयिक निधनको खबरले हामीलाई स्तब्ध बनाएको छ। उहाँको निधनले क्षत्री समाजले एक अभिभावक र राष्ट्रले एक कुशल जनप्रनिनिधि गुमाएको छ।’






