पोखरा- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की जिल्लामा आवश्यक तयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसार जिल्लाका ३६५ वटै मतदान केन्द्रमा मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ। चुनाव गराउन निर्वाचन सामग्री बोकेर गएका कर्मचारीले पनि मतदानस्थलमा सूचना टाँस गर्ने, सर्वदलीय बैठक आयोजना गर्ने, मतदानस्थल तयार पार्नेलगायत काम गरिसकेका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्की जिल्लामा तीन वटा निर्वाचन क्षेत्र छन्। २०७० सालसम्म यहाँ चार वटा क्षेत्र थिए। २०७४ यता तीन वटा क्षेत्र कायम भएका हुन्।
निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले मतदान गराउन निर्वाचन अधिकृत र सहायक मतदान अधिकृत लगायत गरी २ हजार १ सय ८४ जना कर्मचारी खटिएको जानकारी दिए। निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित तबरले सम्पन्न गर्न कर्मचारी पनि निकै उत्साहित बनेका छन्।
प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल पनि निर्वाचनको सम्पूर्ण तयारी पूरा भएर मतदान गर्न मात्र बाँकी रहेको बताउँछन्। उनका अनुसार जिल्लामा शान्ति, सुरक्षालगायत केही समस्या छैन। कास्कीमा १५३ मतदानस्थलका ३६३ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र गरी ३६५ मतदान केन्द्र तय गरिएका हुन्।
निर्वाचन कार्यालयका अनुसार कारागारका कैदीबन्दीका लागि जिल्ला कारागारमा मतदान केन्द्र तोकिएको छ। कास्कीमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४९ जना उम्मेदवार मैदानमा छन्। मतदाता संख्या कुल तीन लाख आठ हजार ५७२ जना र दुई हजार ८६१ जना अस्थायी मतदाता छन्। तीमध्ये महिला ७२० र पुरुष दुई हजार १४१ छन्।
कास्की क्षेत्र नम्बर १ मा १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये एकजना स्वतन्त्र छन्। १ लाख १६ हजार ८७८ मतदाता छन्। कास्की १ मा मादी गाउँपालिका (वडा १ देखि १२ पूरै) र रुपा गाउँपालिका (वडा १ देखि ७ पूरै) सहित पोखराका ११ वटा वडाहरु पर्दछन्। पोखराको वडा १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ वडाहरु कास्की १ मा पर्छन्।
कास्की क्षेत्र नम्बर २ मा चार स्वतन्त्रसहित १७ उम्मेदवार प्रतिस्पर्धामा छन्। कास्की २ मा ८४ हजार १३४ मतदाता छन्। यो निर्वाचन क्षेत्र पोखराको मुख्य बजार क्षेत्र पर्छ। पोखराका वडा ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, र ३३ पर्छ।
कास्की क्षेत्र नम्बर ३ मा १५ जना उम्मेदवार छन्। यहाँ कुल १ लाख ७ हजार ५६० मतदाता छन्। यो अन्नपूर्ण गाउँपालिका (वडा १ देखि ११ पूरै), माछापुच्छे«े गाउँपालिका (वडा १ देखि ९ पूरै) र पोखराका ११ वटा वडाहरु पोखराका वडा १, २, ३, ५, ६, १८, १९, २२, २३, २४, २५ पर्छन्।
गण्डकीभर १८ लाख ७० हजार मतदाता सहभागी हुँदै
गण्डकी प्रदेशभर कर्मचारी र स्वयंसेवक गरी झण्डै २१ हजार जना परिचालन भएका छन्। तीमध्ये १४ हजार ३५० कर्मचारी र ७ हजार ६५ स्वयंसेवक रहेको प्रदेश निर्वाचन कार्यालय, पोखराले जनाएको छ।
गण्डकी प्रदेशभर कुल १८ लाख ७० हजार ६५ मतदाता छन्। प्रदेशमा निर्धारित १ हजार २९७ मतदानस्थल र २ हजार ३९६ मतदान केन्द्रमध्ये सबैमा आवश्यक तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ। गण्डकी प्रदेशमा अस्थायी मतदाता २१ हजार ६९३ छन् भने १७ अस्थायी मतदान केन्द्र कायम छन्।
गण्डकीमा प्रतिनिधि सभा सदस्यका लागि १८ निर्वाचन क्षेत्रमा ३० स्वतन्त्र उम्मेदवारसहित २३४ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन्। तीमध्ये २९ महिला र २०५ पुरुष छन्। सबैभन्दा बढी कास्कीमा १८ राजनीतिक दल र सबैभन्दा कम मनाङमा ३ दल प्रतिस्पर्धामा छन्।





