लुम्बिनी : ३३ लाख ८६ हजार मतदाता, तयार भए मतदानस्थल

विनोद परियार २० फागुन २०८२ २०:४८ | Wednesday, March 4, 2026
12
SHARES
लुम्बिनी : ३३ लाख ८६ हजार मतदाता, तयार भए मतदानस्थल

बुटवल- प्रतिनिधिसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सबै तयारी पूरा भएको छ। लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार ५६ वटा निर्वाचन क्षेत्रमा मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको हो।

भोलि बिहीबार हुने मतदानका लागि एक हजार ६७१ वटा मतदानस्थल र ३ हजार ९९८ मतदान केन्द्र रहेका छन्। यी सबै क्षेत्रमा मतदानका लागि आवश्यक पर्ने सम्पूर्ण कामहरु सम्पन्न भएको सूचना अधिकारी कुँवरले बताए।

लुम्बिनी प्रदेशमा २६ सिटका लागि ५८२ उम्मेदवार छन्। यसमध्ये ५३ जना मात्रै महिला उम्मेदवार छन् भने बाँकी ५२९ जना महिला उम्मेदवार रहेको निर्वाचन कार्यालयले जनाएको छ। लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा ३३ लाख ८६ हजार ६८० मतदाता छन्। यसमध्ये पुरुष १७ लाख १५ हजार १६३, महिला १६ लाख ७१ हजार ४७९ र अन्य ३८ जना मतदाता रहेका छन्।

रुपन्देहीमा मतदानस्थल तयार, मतगणना स्थल पनि बन्यो

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा तयारी पूरा गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार रूपन्देहीमा पाँच वटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन्।

यी मतदाताहरूले जिल्लाभरका २ सय १३ मतदान स्थल र ७ सय ३६ मतदान केन्द्रबाट मतदान गर्ने छन्। सबै मतदान केन्द्रमा एक एक जना मतदान अधिकृत र एक एक जना सहायक मतदान अधिकृत सहित कर्मचारी खटाइएको रूपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए। निर्वाचनमा मतदाताहरूको सहजताको लागि २ हजार २ सय ३ जना स्वयंसेवक कर्मचारी समेत खटाइएको छ। मुख्य निर्वाचन अधिकृत बस्नेतका अनुसार रूपन्देहीमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।

सोमबार मध्यरातदेखि मौन अवधि सुरू भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले मतदान स्थल, केन्द्र र मतगणना स्थलमा सम्पूर्ण तयारी पूरा गरिएको जनाइएको छ।

मंगलबार बिहानैदेखि नै मतदान स्थलहरूमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीहरू पुगिसकेका छन्। मतदान स्थलमा पुगेका अधिकृतहरूले सूचना टाँस गर्ने, सर्वदलीय बैठक गर्ने र मतदानको लागि आवश्यक तयारी सकेका छन्।

रुपन्देही निर्वाचन क्षेत्र न. २ अन्तर्गत सबैभन्दा धेरै मतदाता रहेको बुटवल वडा न. ११ स्थित लुम्बिनी बाणिज्य क्याम्पसमा मतदानस्थलमा मतदानका लागि सबै प्रक्रिया पूरा गरिएको मतदान अधिकृत राजेन्द्र प्रसाद पन्थीले बताए। उनले मतदान केन्द्र निर्माण सम्पन्न गरी शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्नका लागि तयारी गरिएको बताए।

उनले विगतमा १६ वटा केन्द्र रहेकोमा अहिले नविन औद्योगिक कदरबहादुर माविमा ९ वटा केन्द्र राखेर तयारी गरिएको उनले बताए। उनले अशक्त, अपांगता भएका र ज्येष्ठ नागरिकलाई छुट्टै लाईन बनाइएको बताए।

मतदानको तयारीसँगै जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा मतगणनाका लागि गणना स्थल र आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने, गणना स्थलमा तार जाली लगाउने लगायतका काम पनि भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: २० फागुन २०८२ २०:४८ | Wednesday, March 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast